बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सडक दुर्घटना बढ्दो

बुधवार , भाद्र १२, २०८१

सिन्धुली – सिन्धुलीमा सवारी दुर्घटना पछिल्लो समय बढ्दो रहेको छ । पछिल्लो समय जिल्लामा सवारी दुर्घटनाको घटना बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा देखिन्छ ।

भदौ ८ गते शनिबार मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा हाईलेक्स पिकअप गाडी खस्यो । पिकअप गाडिमा ३ जना बेपत्ता छन् । नदीमा खसेको गाडी शनिबार राती नै फेला परेको थियो । दुर्घटनाग्रस्त गाडी सुनकोशी नदीबाट बाहिर निकालिसकेको छ । दुर्घटनामा परि नदीमा वेपत्ता भएका तीनै जनाको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो । बेपत्ता हुनेमा भक्तपुरका अविन बाके, बलराम घटुवा र प्रनित स्यागु रहेको छन् । गाडीमा सवार सूर्यविनायक नगरपालिकाको जगाती बस्ने सुशान्त कक्षपती भने पानीबाट पौडिएर निस्कन सफल भएका थिए । खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको प्र.नं.३–०१–०२३ च ६३६६ नम्बरको हाइलेक्स पिकअप सुनकोसी नदीमा खसेको थियो । सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा गाडि खसेको प्रहरीले बताएको छ ।

तिव्र गतिको कारण गाडि अनियन्त्रीत भइ नदिमा खसेको हुन सक्ने अनुमान गरिएको एसपी काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी तीव्र गतिमा भएको हामीले अनुमान गरेका छौँ, अनुसन्धान गरिरहेका छौँ । गाडी आफै अनियन्त्रीत भइ सडकबाट नदीमा खसेको हो । गाडीमा जडान गरेको क्यामेरामा भिडियो रेकर्ड पनि हामीले पाएका छौँ ।”

साउन ३१ गते विपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका २ चियाबारीमा डबल क्याप बोलेरो दुर्घटना हुदाँ तीन जनाको मृत्यु भयो । गोलञ्जोर गाउँपालिका वडा नं. ६ नाकाजोलीबाट तरकारी लिएर सिन्धुलीमाढी आउँदै गरेको वा २० च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टेको थियो । बोलेरोमा सवार गोलञ्जोर ६ का वडा सदस्य उदय मस्र्यांगी मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

दुर्घटना भएको बोलेरो तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । कमलामाई नगरपालिका ४ हिरापानीका प्रकाश कार्कीले दुर्घटनास्थल भन्दा ५ सय मिटर पछाडि उक्त बोलेरो तीव्र गतिमा गइरहेको देख्नुभएको थियो । उहाँले भन्नुभयो, “मैले चियाबारीको दुइ घुम्ती माथि यो दुर्घटना भएको बोलेरो भेटेको थिए । गाडी माथिबाटै एकदमै स्पिड थियो । गाडि आफै अनियन्त्रीत भइ दुर्घटना भएको हो ।”

सिन्धुलीमा आर्थिक वर्ष २०८०÷८१ मा सवारी दुर्घटनामा परि २५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बढी पुरुष रहेका छन् । २० जना पुरुष, ३ जना महिला र १ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सो अवधिमा १ सय ७ जना सक्त घाइते भएका छन् भने २ सय ८९ जना सामान्य घाइते भएका छन् । १ सय ७५ सवारी दुर्घटना भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । ४ जना पुरुष र १ जना महिलाको मृत्यु भएको हो । २४ जना सक्त घाइते भएका छन् भने १९ जना सामान्य घाइते भएका छन् ।

चालकको लापारबाहीको कारण दुर्घटना बढ्यो

एसपि काफ्लेका अनुसार चालकको लापरबाहीका कारण सबैभन्दा धेरै सडक दुर्घटना हुने गरेको छ । यस्तै यात्रु, मौसम, यान्त्रिक गडबडी, सडकको अवस्था, छाडा चौपाया र सडकमा बिछ्याइएको बिस्कुनका कारण पनि धेरै दुर्घटना हुने गरेका छन् ।

युवा चालकहरु धेरै भएकाले तीव्र गतिमा सवारी साधन कुदाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाउने गरेका कारण पनि धेरै दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । यस्तै चालक तनाव वा धेरै खुसीको बेलामा पनि सवारी साधन कुदाउने गरेका कारण दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ । “यात्रुहरुले सडक नियम पालना नगर्दा, गुडिरहेको गाडीबाट हाम फाल्दा, टाउको बाहिर निकाल्दा, छतमा चढ्दा, ट्राफिक नियमको पालना नगर्दा पनि दुर्घटना भएको पाइन्छ,” उहाँले भन्नुभयो, “अब हुस्सु लाग्ने मौसम सुरु भयो । हुस्सु लागेको बेलामा पनि बत्ती नबालेर नै सवारी कुदाउने कारणले पनि सवारी दुर्घटना भएको पाएका छौं ।” यस्तै समय समयमा सवारी साधनको सर्भिस नगर्ने भएकाले पनि दुर्घटना भएका छन् । बाटोहरु घुमाउरो, ट्रफिक चिन्ह नभएका कारण, छाडा चौपायका कारण पनि दुर्घटना भएका छन् ।

प्रतिक्रिया