बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

श्रीकृष्ण  जन्माष्टमीका दिन सिन्धुलीमा लाखे नाच देखी मटकाफोर कार्यक्रम 

मंगलवार , भाद्र ११, २०८१

सिन्धुली –प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व सोमवार वैदिक सनातन धर्मावलम्बीले सिन्धुलीमा भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधनागरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सिन्धुलीका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन जिल्लाका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो ।यसैवीच सिन्धुलीमाढीमा मटकाफोर कार्यक्रमको आयोजना गरिएको थियो । मटकामा ३५ हजार पैसा समेत राखिएको थियो मटका फुटाउने समुहले उक्त ३५ हजारको पुरुस्कार राखिएको थियो ।

घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रुपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन रातिमा भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा सोमवार सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो ।

यसैगरी कृष्ण जन्मअष्टमीको अवसरमा लाखे नाच प्रदर्शन गरिएको थियो । श्री गणेश भिमसेन मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नेवाः देय दवु, नेवाःमिसा दवु, नेवाःल्याय्म्ह दव, खल पुचःहरुको सहकार्यमा लाखे जात्रा मनाईएको हो ।

कला संस्कृति र पर्यटन प्रवद्र्धनको लागि सिन्धुलीमाढीमा लाखे नाच प्रदर्शनी आयोजना गरिएको आयोजकले बताएको छ । जिल्लाको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र संस्कृति संरक्षणको लागि लाखे नाच र कृष्ण जन्मअष्टमीको अवसरमा यस कार्यक्रम आयोजना गरिएको बताएका छन् । सिन्धुलीमाढीको दुई नम्बर बजारबाट नेवारी बाजागाजा, झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरु भएको लाखेजात्रा तथा सांस्कृतिक कार्यक्रम २ नम्बर बजार, गैह्रि बजार, १ नम्बर बजार, स्टलबजार, बसपार्क, धुरा बजार हुँदै ढुंग्रेबासमा रहेको कृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको छ । राधा, कृष्ण र लाखे सहित सुरु भएको जात्रामा लाखे नाच, लठ्ठी नाच, धिमेबाजा, रोपाईं नाच, नेवारी नृत्यहरु लगाएतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेवारी संस्कृतिको संरक्षण लागि सिन्धुलीका नेवार समुदायले प्रत्येक वर्ष गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा गाईजात्रा, लाखे नाच देखाउने गरिएको छ ।

प्रतिक्रिया