लेखकः बिनोद दाहाल
अहिले पनि खोइ हामीलाई भन्दै आन्दोलन चर्काउनु जरुरी छ । जति आन्दोलन हुँदा पनि हाम्रो भागमा केही आउँदैन भने हामी फेरि किन नउठ्ने ? भएको परिवर्तनमा पनि पुरानै भ्रष्ट र नालायकहरूले नै पाउने, शेरवहादुरहरू मात्र हैन उनकी पत्नी राणाहरूकै मात्र दिन आउँछ भने यो परिवर्तनलाई हामी कसरी स्वीकारौं ? वर्ग, जाती, क्षेत्र, लिंग र विभेदमा परेकाले बिद्रोह गरेर ल्याएको र सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दलले नेतृत्व गरेर परिवर्तन गर्दा पनि हाम्रा समस्याहरूका समाधान दिन सक्दैनौ भने सत्तामा पुराना सत्ताधारीहरूलाई कसरी स्वीकार्ने ? सारमा र खासमा फेरि पनि सर्वहारा वर्गले आफ्नो अधिकारका लागि बिद्रोह गर्नुपर्छ । सबैखाले शोषण, उत्पिडन र विभेदको अन्त्य गर्ने सर्वहारा अधिनायकवादी शासन नै गर्नुपर्छ । सबैखाले श्रमजिवी वर्गले आफ्नो अधिकारका लागि आवाज उठाउने र एकताबद्ध भएर आफूलाई शोषण र उत्पिडन गर्ने बर्गबिरुद्ध आवाज बुलन्द गर्नुपर्छ र प्रहार केन्द्रित गर्नुपर्छ । यो अवस्थाका लागि हामीले आफ्ना मित्रशक्तिलाई राम्ररि चिनेर मोर्चाबन्दी गर्नुपर्छ । हामीले समाजमा मानिस केकस्ता समस्याहरू भोगिरहेका छन् त्यसको समाधानको लागि गहिरो अनुसन्धानमार्फत समाधान दिनसक्नुपर्छ ।
हामीले अहिले पनि देशको दुरावस्था भोगिरहेका छौं ! साँच्चै भन्दा हाम्रो यो लोकतान्त्रिक सभ्य समाज दुई दशक अघिदेखि मात्र बामे सर्न थालेको हो । यसअघिको बर्बर र निरंकुश सामन्ती राज्यव्यवस्थामा केही सचेत बाहेक अरू नागरिकले आफूले आफैंलाई चिन्नै सक्दैनथे । चिन्नेहरूको सचेतपहलमा त्यो शासनव्यवस्था त ढल्यो तर जनयुद्धको जगमा आएको लोकतान्त्रिक गणतन्त्रमार्फत ल्याउने भनिएको जनगणतन्त्र अझै पनि आएन । यो अवैज्ञानिक प्रयासमा योगदान र वलिदान गर्ने सचेत समूह बिभाजित भयो । अहिले त्यही बिभाजले अल्मल्याएको वेला हो । यो बेला स्वभाविक रुपमा बर्गसंघर्ष अमुर्त झैं बनेको छ ।
वर्गसचेत नागरिकले आफ्नो बिद्रोह गर्ने अधिकार प्रयोग गरेर अर्थात अर्थात वर्गसंघर्ष गरेर हामी बर्बर निरंकुश सामन्ती समाजबाट मुक्त हुन पाएका हौं । हामीले यसलाई लोकतान्त्रिक गणतन्त्र भनेका छौं । धेरैले यसलाई सबै समस्याहरूको समाधान हुने राज्यव्यवस्थाको अर्थमा बुझेकाले र त्यो नभएको देख्दा अहिले पनि असन्तुष्टि भएको भाव व्यक्त गर्ने गर्दछन् । अहिले पनि मुख्य रुपमा रहेको बर्गीय समस्याको समाधान भएको छैन भन्ने ज्ञानको अभावले गर्दा मानिसमा त्यस्तो भावना पैदा भएको हो । मुख्य समस्या नै जस्ताकोतस्तै भएको अवस्थामा त्यसले खडा गर्ने उपरिसंरचना पनि जस्ताकोतस्तै छ, मात्र रुप पक्षमा फरकपन रहेको हो भनेर बुझ्नुपर्छ, त्यो बुझ्न सकेका छैनन् । जनताले फालेको शासनव्यवस्थामा सामन्ती शोषण मुख्य प्रबृत्ति थियो अहिले दलाल पुँजीपति वर्गको छ ।
आवादी जग्गा बँझिदैछ । यसको कारण नागरिकले वैदेशिक रोजगारि पाएको बैकल्पिक अवशर हो । जग्गा किन बँझियो ? यसको अरू कारण पनि छन्, मुख्य रुपमा यो हो भने अर्को किसानलाई दिइएको सीमाहीन खुल्ला प्रतिस्पर्धात्मक अवस्था । अर्को स्वामित्वको सवाल छ– जति खेती गर्दा पनि साहु, महाजन, राज्य र धर्मले लुट्ने कमाइसमेत खेतीपातीबाट पुर्याउ असम्भब भएपछि मानिस खेतीप्रति उदासिन छन् । राज्यले नै पालेका बिचौलियाहरूबाट पनि किसान असुरक्षित भए, सोही कारण पनि जग्गा बँझिन नरोकिएको हो । किसान बर्ग र उनीहरूको केन्द्रिकरणसित राज्य डराउने कारणले पनि राज्यले किसानलाई साथ दिईराखेको छैन । किसानको सुरक्षाको दायित्व दलाल पुँजिवादी राज्यले ठानिराखेको छैन । हाम्रो देशमा अझै खेतीपाति, पशुपंक्षिपालनलाई व्यवसायिकरण गरिएकै छैन । यसो गरियो भने बर्गसंघर्षले मुर्त आकार लिन्छ जुन थेग्नैनसकिने भार पर्न जान्छ । मुख्यतः स्वदेशी उद्योग–व्यवसाय र व्यापारले बर्गसंघर्षले मुर्त रुप लिनेछ, देशले निकास पाउने छ । अरू कारण जति खोजे पनि यो वर्गीय समाजमा हामी समाधान भेट्दैनौं ।
नागरिक धमाधम विदेशिंदै छन् । बर्गीय समाजमा हामी यसको पनि कारण भेट्दैनौं । लुटपाट यसरी बढेको हुन्छ कि जुनसुकै देशले आफ्ना नागरिकलाई नागरिक अधिकार दिएर पाल्न सक्दैनन् । सबै देशमा यही कारण तनाबहरू निम्तिएका छन्, समाधान भेट्दैनन् । समाधान त कारण नभेटिएपछि हुने कुरै भएन । बर्गसंघर्षले मात्र यसको कारण खोजेर समाधान दिनसक्छ ।
यो भन्दा राम्रो राजनीतिक व्यवस्था नै छैन झैं गरि सबै मानिस संवैधानिक व्यवस्था भित्र कोचिएर र गुम्सिएर बसेका छौं । जनगणतन्त्र नै यसको बिकल्प हो भनेर स्पष्ट भन्न किन सकिरहेका छैनौं भने शोषणको एक हिस्सेदार हामी पनि भएकैले हो । हामी जहिलेसम्म शोषणमा आधारित बर्षसम्बन्ध तोड्नसक्दैनौं तवसम्म सचेतपहल लिन पनि सक्दैनौं ।
हामी खुल्ला समाजमा भएका हुनाले संसार चहार्न पाएका छौं । यसैकारण संसार हेरेर हामी पिछडिएको अवस्थामा रहेको चाल पाउँदैछौं । हामी २ दशक अघिसम्म सामन्ती अधिनस्त समाजमा थियौं भन्ने पटक्कै हेक्का राख्दैनौं । हामी कुन ठाउँमा पुग्नुछ भन्ने हेक्का राख्न पनि नसक्ने भएका छौं । रुपपक्षमा केन्द्रित हुने तर सारपक्ष बिर्सिदने हाम्रो लत बदलिनु पर्छ । के हामी सत्यको पक्षमा आफूलाई दृढताका साथ उभ्याउन सक्दैनौं र ? अवस्य पनि सक्नुपर्छ । अरू त साथसहयोगी हुन् भनेर बुझ्नुपर्छ ।
हाम्रो एउटा साह्रै अत्याचारि व्यवहार छ । त्यो केहो भने सबै चोर, सबै लुटेरा, सबै बदमास, सबैसबै नराम्रा, सबैलाई भुटुटुटु हान्नुपर्ने जस्ता अभिव्यक्ति पनि सहज रुपमा पचाउन सक्छौं । वलिदानीपूर्ण योगदान गर्नेहरूमाथि घृणित व्यक्तिवादी स्वार्थीहरूले बोल्ने गरेको यस्ता घृणित अभिव्यक्तिको डटेर प्रतिवाद गर्नु आफ्नो नैतिक जिम्मेवारि र योगदान गर्नेहरूमाथिको न्यायको पक्षमा दृढ भएर डट्नुपर्छ । त्यस्ता अनैतिक र अत्याचारिहरूको मुख बन्द गर्दिनुपर्छ ।
संसारमा धनी व्यक्ति अरूलाई लुटेरै भएका हुन् र धनी देश अरू देशलाई लुटेरै भएका हुन् । हामी यो सत्य कुरा वहसको विषय बनाउने गर्दैनौं किन ?किनकि हाम्रो सोच्ने शक्ति साम्राज्यवादले नियन्त्रण गरेर अचेत बनाईदिएको छ । त्यसैले हामी वर्गीय समस्या नै सबै समस्याहरूको केन्द्रमा छ भनेर बुझ्ने सामर्थ्य गुमाएका छौं । सल्वलाए जस्तो लागे पनि यो मुर्दा शान्तिको अवस्थामा विश्व मानव समुदाय छ । यो भुलभुलैया तोडिनुपर्छ ।