सिन्धुली — लोपोन्मुख हायू समुदायको बसोबास रहेको कमलामाई नगरपालिका–१ डाडीगुराँसेको कोप्चे सिमलेगाउँ वर्षाले चिराचिरा पारेपछि स्थानीय चिन्तित बनेका छन् । तिन दिनअघि भएको वर्षाले सिंगो कोप्चे सिमलेगाउँमा धाँजा फाटेपछि स्थानीय बेघरवार हुने चिन्तामा छन् ।
कोप्चेमा हायू समुदायका १५ घरधुरी र ९० जना जनसंख्या छ । तीमध्ये ४ घर अत्यन्तै जोखिमयुक्त र बस्नलायक नरहेको उनीहरुले बताएका छन् ।
गाउँमाथिबाट ल्याएको कुलोभन्दा मूनिबाट जमिन फाटेको स्थानीय ज्ञानबहादुर हायूले बताउनुभयो । उहाँले आफ्नोसहित ४ परिवारको घरभित्र बस्नै नमिल्ने गरी धाँजा फाटेको बताउनुभयो । पार्वती, ज्ञानबहादुर, अम्मरबहादुर र पदम हायूको घर बस्नै नमिल्ने गरी घरभित्रै धाँजा फाटेको छ भने घरका खाँबा पनि ढल्किएका छन् ।
बिहीबार रातभरि परेको पानीपछि सिंगो गाउँ चिराचिरा परेको स्थानीय रत्नबहादुर हायूले बताए । भाइबुहारीको घरको भान्सामा मानिस नै छिर्न सक्ने गरी धाँजा फाटेकाले नजिकैको गोठमा आश्रय लिए पनि सबै त्रसित भएको उहाँले सुनाउनुभयो । भान्साको धाँजा फाटेको ठाउँमा माटोले पुरेर केटाकेटी छिर्न नसक्ने बनाइएको छ । “गाउँको पुछारमा खोला छ, त्यो भन्दा माथि ठाडोभीर अनि गाउँ भएकाले पूरै बग्ने हो कि भन्ने सन्त्रास छ,” स्थानीय पदम हायूले भन्नुभयो, “छोडेर जाने विकल्प छैन । रातदिन हेरेर बस्नु परेको छ ।”
७ वर्षअघि श्रीमान् गुमाउनु भएकी ३४ वर्षीया मोतीमाया हायूले घर चिरा परेर बस्नै नमिल्ने भएपछि ४ बालबच्चा लिएर कता जानु भन्दै बिलौना गर्नुभयो । “भएको सबै यही घर र पाखोबारी हो,” उहाँले भन्नुभयो, “यहाँबाट अन्त जाने उपाय छैन, राति जेठाजुको गोठमा बस्ने गरेका छौं । पानी पर्नासाथ गाउँ नै बग्ने हो कि भनेर जाग्राम बस्छौं ।”
गाउँ पूरै जोखिममा भएकाले एकैपटक स्थानान्तर गर्ने सम्भावना नरहेकाले नजिकसम्म जमिनमा तीन वटा टेन्ट टाँगेर पानी पर्नासाथ घर छोड्नु भनका छौँ वडाध्यक्ष नरेश गोलेले बताउनुभयो । उहाँले भन्नुभचयो, “यो संघीय सरकारबाटै भूगर्भविद् खटाएर अवस्था चित्रण हुनुपर्छ । बस्नयोग्य हो, होइन खुट्याउनु पर्छ । नत्र बस्ती नै सार्नुपर्छ ।”