सिन्धुली – पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुँडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकाँश सडक निर्माण भएका छन् ।
बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । सिन्धुलीका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।
ग्रामीण सडकले बस्ती त जोखिममा पार्यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, भन्ज्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको छ ।
भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् ।
सुनकोशी गाउँपालिका–१ का उद्वव प्रसाद कोईरालाले पहिले–पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौतारीमा बसेर थकाइ मार्ने गरेको स्मण गर्दै अहिले ती सम्पदा मेटिएकामा दुःखेसो पोख्नुभयो । उतिबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच हुने गरेको भन्दै अहिले सडक सञ्जालले गर्दा त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो ।
डेढदशक अगाडि गाउँबाट दुई दिनसम्म हिडेर बजार पुग्ने गरेको सुनाउँदै कोइरालाले अहिले केही घण्टामा पुग्न सकिने अवस्था आएको बताउनुभयो । “अहिलेका पुस्तालाई पाटीपौवा, धर्मशाला, चौपारी के हो भन्ने थाहा छैन । पाँच÷सात वर्ष अगाडि गाउँमा वरपिपलका चौपारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शीतल लिन्थ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले ती वरपिपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौपारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।”
गाउँमा सडक आएपछि आवागमन र दैनिकी सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको कमलामाई नगरपालिका–३ का ८२ बर्षिय नरनाथ देबकोटले बताउनुभयो । आफूहरुको पालामा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखिने भन्दै अहिले पापपुण्य भन्ने चलन हराउँदै गएको उहाँले गुनासो पोख्नुभयो । सडक नआउँदासम्म गाउँको १२÷१५ स्थानमा वर र पिपलको चौपारी तथा ढुंगे धारा रहेको सुनाउँदै अहिले ती ठाउँ सबै पुरिएर सडक बनेका उहाँले उल्लेख गर्नुभयो ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो । पालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उहाँले जानकारी दिनुभयो ।
मौलिक सम्पदाले समाजको पहिचान बोकेको भन्दै यसले पर्यटक प्रबर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपाध्यक्ष बरालले बताउनुभयो । फिक्कलमा बढी ग्रामीण क्षेत्र रहेकाले पनि मौलिक संस्कृतिको संरक्षणमा गाउँ, समाज र स्थानीय प्रशासनको भूमिका रहने भन्दै आपसी सहकार्य र एकताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।