बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सांसद दाहालको अनियमितताको पार्टीले छानबिन गर्नुपर्ने माग

बिहिवार , भाद्र ६, २०८१

सिन्धुली – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)माथि भ्रष्टाचारको आरोपबारे पार्टीभित्र गम्भीर प्रश्न उठेको छ । सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा उहाँले आर्थिक हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेको हो ।

यसबारेमा बुधबार माओवादी पार्टी कार्यालयमा बसेको बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा यो विषय उठेको छ । केही नेताहरुले भ्रष्टाचारको प्रसंग निस्किएपछि सिन्धुलीको उदाहरण दिँदै आवाज उठाएको बागमती प्रदेशका एक नेताले बताए । ती नेताले अनियमिततको विषयमा पार्टीले छानबिन गर्नुपर्नेमा जोड दिए ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

राजनले संघीय सांसद भएयता अध्यक्ष प्रचण्डको पक्षमा निरन्तर बोल्दै आउनु भएको छ । प्रचण्डले खासै विश्वास नगरेपनि प्रचण्डलाई विश्वासमा लिनकै लागि उहाँले संसद र बाहिर लगातार पक्षमा अभिव्यक्ति दिँदै आउनु भएको पार्टीकै नेताहरु बताउँछन् ।

प्रतिक्रिया