सिन्धुली – कमलामाई नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । कार्यक्रम मार्फत प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्बन्धि कार्य योजना २०८१ समझदारी पत्रमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल बाट तयार पारिएको स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८१, शान्ति सुरक्षाका विविध विषयहरु समेटिएको प्रशिक्षण सामाग्री प्रहरी शिक्षक नियुक्ति, प्रशिक्षण तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन सम्बन्धी कार्य योजना–२०८१ अनुरुप कमलामाई नगरपालिकासंगको साझेदारीमा विद्यालयका शिक्षकहरु र–अध्ययनरत छात्रछात्राहरुलाई सु–सूचित गर्दै प्रशिक्षण गराउनका लागि आवश्यक सहयोग एवं समन्वय र साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
अपराध, लागू औषध दुर्व्यसनी, धुम्रपान र मध्यपान, साइबर अपराध, बालबालिका विरुद्ध हुने अपराधहरू, सामाजिक अपराधहरू, घरेलु हिंसा र उजुरी सम्बन्धी व्यवस्था, करणी सम्बन्धी कसुर अपराध लैंगिक हिंसा, लैंगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी, एकद्वार संकट व्यवस्थापन केन्द्रको कार्यात्मक, मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध सचेतनामूलक कार्यक्रमहरु, सामाजिक सदभाव एवं सम्मान, जुवा तास तथा सट्टाबाजी, आत्महत्या, चोरी र चोरीबाट बच्ने उपायहरू, घटनास्थल सुरक्षा, ट्राफिक सचेतना विपद जोखिम र न्यूनीकरणका उपाय, शीत लहर र सोको जोखिमबाट बच्ने उपाय, सर्पको टोकाइ र सुरक्षात्मक उपाय, अपराधिक अभिलेख प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र ,आत्म रक्षा, तनाव व्यवस्थापन सम्बन्धी विषयमा कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो ।
विद्यार्थीहरूलाई अपराधिक कार्यको बारेमा जानकारी भई पीडित हुनसक्ने सम्भावना कम हुने बालबालिका विरुद्ध हुने अपराधको संख्यामा उल्लेखीय कमी हुने अपराधिक मनोवृत्ति भएका तत्वहरू निरुत्साहित हुने प्रहरी र नागरिकहरूको सहकार्य अभिवृद्धि हुने शान्ति सुरक्षाको अवस्था सुधार हुने सुधार आउने भएकोले प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका प्रमुख उप्रेन्द कुमार पोखरेलले सबैभन्दा ठूलो कुरा भनेको शिक्षा नै भएकाले शिक्षाले नै राष्ट्रलाई सुधार गर्न सक्ने बताउदै स्थानीय तहको विद्यालयका सम्पूर्ण विद्यालयका शिक्षक विद्यार्थी अभिभावकले प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सफल बनाउन, एउटा सभ्य समाज निमार्ण गर्न सबै मिलेर लाग्ने बताउनुभयो । पोखरेलले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहु उपयोगी बन्ने बतानुभयो । समाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पुर्याउनु महत्वपूर्ण काम भएको उहाँको भनाइ छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, शिक्षा शाखा प्रमुख हित कुमारी पौडेल, विभिन्न सरकारी तथा निजि विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
