सिन्धुली – नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ माथि आर्थिक अनियमितताको आरोप लागेको छ । जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्दा दाहालले आर्थिक अनियमितता गरेको आरोप पार्टीले नै लगाएको हो । माओबादी जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)को अध्यक्षतामा बसेको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएकाले पार्टी कमिटीमा परिपत्र गरेपछि दाहालको अनियमितता बाहिर आएको हो । उक्त परिपत्र गत साउन १७ गते नै गरिएको भए पनि मंगलवार सार्वजनिक भएको हो ।
यसबारे दाहाललाई बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको परिपत्रमा उल्लेख गरिएको छ । इन्चार्ज माझीले पठाएको परिपत्रमा भनिएको छ, “जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय व्यय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रमको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन । गणेश रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०/४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माणको आय व्यय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।”
जनसेवा फाउन्डेसनकी अध्यक्ष दीपा बोहरा दाहाल राजन दाहालकी श्रीमती हुनुहुन्छ । दीपा सुनकोशी गाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ । भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दासम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले दाहालको आलोचना गरिरहेका छन् ।
पार्टी कार्यलय भवन निर्माण सम्पन्न गर्न करिब रु दुई करोड १० लाख खर्च अनुमान गरिएको भएपनि सहयोगी दाताहरुबाट कति रकम संकलन भयो ? कती रकम अपुग भयो ? कति रकम खर्च भयो ? वा बचत रह्यो भन्ने सहयोगी दाताहरुलाई नै जानकारी दिन नखोज्नुले आफुलाई सुशासनको चर्काे कुरा गर्ने सांसद(राजन)को नियत माथी शंका गर्नु पर्ने माओवादी केन्द्र सिन्धुलीका नेता कार्यकर्ताहरु बताउँछन । माओवादी केन्द्र सिन्धुलीका तत्कालीन इञ्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने बताउनु भएपनि हाल सम्म खर्च विवरण सार्वजनिक गर्नुभएको छैन । पारदर्शितालाई लुकाउँदै संकलन गरिएको रकम ब्यक्तिहरुको नाममा खाता सञ्चालन गरि दुरुपयोग गरिएको एक माओवादी नेताले बताए । पार्टी कार्यालय बनाउन भन्दै संकलन गरिएको सहयोग रकम लेखनाथ दाहाल(राजन)ले आफुखुसी दुरुपयोग गरेको उनले बताए ।
कमलामाई नगरपालिका–६ स्थित २ मा ७० लाख हाराहारीमा १२ धुर जग्गा किनेर भवन बनाइएको छ । स्थानीय ताथ बाह्य व्यापारीले रड, सिमेन्ट,इट्टा, गिट्टी, बालुवा सहयोग गरेको उक्त भवनमा ज्यामीको ज्यालाका लागि संकलित रकम र भएगरेको खर्चको हिसाब सार्वजिनक गर्न गत वर्ष पनि आवाज उठेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले उदघाटन गर्नु भएको उक्त भवन निर्माणमा दुई करोड बढी खर्च लागेको अनुमान छ । चार तले उक्त भवनमा १४ वटा कोठा, एउटा हल र एक भान्सा कोठठ छ । भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दासम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले दाहालको आलोचना गरिरहेका छन् ।
दाहालमाथि पार्टी इन्चार्ज नहुँदा पनि सिन्धुलीमा आफूखुसी समानान्तर कमिटी चलाएको आरोप छ । दाहालले इन्चार्जसँग परामर्शविना आफू अहिले इन्चार्ज नहुँदा पनि आफूखुसी बैठक राखेर लेवि समेत उठाउने गरेको बताइन्छ । बैठकले पार्टीका संगठित सदस्यता विवरण र लेबी बुझाउन यसअघि जिल्ला पार्टीको बैठकले गरेको परिपत्र अनुसार लेबी प्राप्त नभएकाले आगामी भदौं मसान्तभित्र बुझाउन कडाइ निर्देशन समेत दिएको छ ।
यसअघि पनि माओवादीले चलाएको जनतासँग माओवादी कार्यक्रममा पनि जिल्ला इन्चार्ज महेश्वर दाहालसँगको टकरावको कारणले दाहालले भाँडभोलो गर्नुभएको थियो । दाहाल गत निर्वाचनमा उपमहासचिव हरिबोल गजुरेलको पक्का भएको टिकट फुत्काएर गठबन्धनबाट सिन्धुलीबाट निर्वाचित हुनुभएको थियो ।
दाहालको स्पष्टिकरण
उता निवर्तमान इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को सचिवालयले स्पष्टिकरण दिनुभएको छ । मंगलबार एक सार्वजनिक अपिल मार्फत पार्टी कार्यालय निर्माण विषयमा पार्टीका नेता कार्यकर्ता तथा आम सरोकारवालाहरुमा जग्गा खरिद तथा कार्यालय भवन निर्माण बारेमा स्पष्ट बनाएको हो ।
पार्टीकार्यालय निर्माणका विषयमा पार्टी भित्र र पार्टीबाहिर पूर्वाग्रही र बद्नाम गर्ने अभिप्रायले चर्चा गरिएपछि सचिवालयले यस्तो स्पष्टीकरण दिनु भएको हो ।
पार्टी भवन निर्माणका लागि जग्गा खरिद तथा भवन निर्माण कार्यमा पार्टी कार्यकर्तामात्र नभएर आम नागरिकले स्वच्छिक सहयोग गरेको र सहयोग रकमका बारेमा जतिवेला पनि हेर्न सक्नेगरी पारदर्शी रुपमा हिसाव किताव कार्यालयमै रहेको बताइएको छ ।
सहयोग गर्नेहरुको नाम र रकम समेत पार्टी कार्यालयमा सिलालेखमा उल्लेख भएको र सो बारेमा जतिवेला पनि बुझ्न र हिसाव हेर्न सकिने बताइएको छ । बैंक खाता पार्टीको खाता, लेटरप्याड र सहयोग रसिद समेत नभई सामाजिक संजालबाट आह्वान गर्दा प्राप्त रकम चन्दादाताहरुको स्वयम नामबाटै बैंकमा जम्मा गरिएको सक्कल भौचरहरु पार्टी कार्यालयमा रहेको स्पष्ट पारिएको छ ।
जग्गा खरिद र भवन निर्माण सम्पन्न पश्चात बाँकी रहेको करिब ४५ लाख रुपैयाँ जनसेवा फाउन्डेसन नामक संस्था स्थापना गरि रकम फिक्स डिपोजिटमा राखिएको उल्लेख छ । पार्टी कार्यालय निर्माणका सन्दर्भलाई लिएर व्यक्तिगत रुपमा आच्छेप लगाउने र बद्नाम गर्ने अभिप्रायका साथ पछि लाग्नेहरुसंग प्रश्नगर्ने नैतिक अधिकार नभएको समेत बताउनु भएको छ ।
