सिन्धुली – सिन्धुली चिनाउने फल जुनारमा चुसाहा पुतली (सुँडे पुतली) किराको प्रकोप बढ्न थालेको छ । विगतको तुलनामा यस वर्ष पनि फल छेड्ने र चुस्ने मोथ सुँडे पुतलीले आक्रमण गरेपछि सिन्धुलीको जुनार जोगाउन मुस्किल हुदै गएको छ ।
जिल्लाको प्रमुख नगदे फलको रुपमा रहेको जुनारमा विभिन्न रोग देखा परेपछि बर्षौदेखि जुनार खेती गर्दै आएका किसान चिन्तामा परेका छन् । जिल्लाको गोलन्जोर गाउँपालिका–४ किराते, गोलन्जोर गाउँपालिका –६ नाकाजोली‚धुसुनी, गाउँपालिका –५ रतनचुरा डाँडा र कमलामाई नगरपालिका ३ चपौलीका जुनार बगैँचामा सुँडे पुतली देखा पर्न थालेका हुन् ।
सिन्धुलीमा गत सालको तुलनामा यो वर्ष छिट्टै सुँडे पुतली देखिएको गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका जुनार कृषक ललित मगरले बताउनुभयो । गत वर्ष झैँ सुँडे किराले फल नै झारिदिने भएकाले जुनारमा धेरै नोक्सानी गर्न सक्ने मगरको भनाइ रहेको छ ।
सिन्धुलीमा गत वर्ष अनुमानित २ करोड ५८ लाख रुपैयाँ बराबरको जुनार बगैँचाहरूमा ११ प्रतिशत देखि ४५ प्रतिशतसम्म फलको रस चुसेर नष्ट भएको जुनार उत्पादक कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मल कुमार रम्तेलले बताउनुभयो ।
ठाउँ–ठाउँमा देखा परे पनि यसले अहिलेसम्म कुनै क्षति नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका कृषि प्राविधिक जहान बहादुर कार्कीले जानकारी दिनुभयो ।
सुँडे पुतलीले साँझ ६–८ बजेसम्म फलको रस चुस्ने र बिहान पनि झिसमिसेमा आउँछ, उज्यालो हुनासाथ भाग्ने भएकाले सुँडे पुतलीलाई नियन्त्रणमा लिन नसकिएको कृषि प्राविधिक कार्कीले बताउनुभयो । सुँडे पुतलीको प्रकोप गत वर्ष भन्दा पहिले नै फैलिन सुरु गरेको छ । कार्कीले भन्नुभयो, “यसको नियन्त्रणको लागि हामीले विभिन्न सञ्चारमाध्यमहरूबाट सूचना बजाउने र किसानले बगैँचामा धुवाँ लगाउने बाहेक कुनै उपाय छैन ।” जुनारमा गुलियो रस फस्न थालेपछि मात्र यसले क्षति गर्ने भएकाले अहिले खासै डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
जुनार सुपरजोनको कार्य क्षेत्रमा गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बरसम्म, कमलामाई नगरपालिकाको वडा नम्बर ३, सुनकोशी र तीनपाटन गाउँपालिकाको वडा नम्बर ७ पर्दछ । सिन्धुलीका दुई हजार दुई सय ६२ जना किसान जुनार सुपर जोन परियोजनामा आबद्ध रहेको छन् ।