बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीबासीले स्वच्छ खानेपानी नपाएकोे गुनासो

मंगलवार , भाद्र ४, २०८१

सिन्धुली – सिन्धुलीमा उपभोक्ताहरुले स्वच्छ खानेपानी नपाएकोे गुनासो गरेका छन् । सिद्धेश्वर खानेपानीले वितरण गरिरहेको खानेपानी स्वच्छ नभएको उपभोक्ताले गुनासो गरेका हुन् ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुने छ भनी उल्लेख गरिएको छ । तर, सिन्धुलीमाढी बजारक्षेत्रका उपभोक्ताहरूले स्वच्छ खानेपानी नपाएको गुनासो छ । सिद्धेश्वर खानेपानीले वितरण गरेको खानेपानी हिलो सहितको आउने गरेको कमलामाई नगरपालिका ६ रातामाटाका अभिषेक लामाले बताउनुभयो । शुद्धिकरण गरेको खानेपानी नै हिलोसहितको आउने गरेको उहाँको गुनासो छ । “पानी शुद्धिकरण गरेको भन्छन् । पुरै लेदोसहितको हिलो पानी आइरहेको छ । यस्तो प्रदुषित पानी कसरी पिउँने ?” उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका ६ दुई नम्बर बजारकी निता कार्की पनि प्रदुषित पानी पिउँन बाध्य भएको बताउनुहुन्छ । शिदेश्वर खानेपानी तथा उपभोक्ता समितिको लापबाहिको कारण प्रदुषित पानी उपभोग गर्न बाध्य भएको उहाँले बताउनुभयो । समितिले पानी संकलन गर्ने ट्यांकीको सरसफाई नगर्ने तथा मुहानबाट पानी शुद्धिकरण नगरेको कारण हिलोसहितको पानी आउने गरेको उहाँको भनाइ छ । “पानीको ट्याङ्की कहिले सफा गदैनन् । न पानी सुद्धिकरण छ । त्यहि भएपनि हिलोपानी आएको हो ।” उहाँले भन्नुभयो । हिलोपानी आउन थालेको दुइ हप्ता भइसक्दा पनि समितिले चासो नदिएको उहाँले आरोप लगाउनुभयो । आफुहरुले बारम्बार समितिलाइ आग्रह गर्दा समेत वेवास्ता गरेको कार्की बताउनुहुन्छ ।

फोहोर पानीका कारण उपभोक्तामा पानीजन्य रोग समेत देखिन थालेको छ । पानीजन्य रोगका बिरामी जिल्ला अस्पताल सिन्धुलीमा धेरै आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिषेक थपलियाले बताउनुभयो । बजार र आसपासका धेरै बिरामी सामान्य रोगमा समेत उपचार गराउन अस्पताल आउने र उनीहरूमध्ये धेरैमा पेट दुख्ने, खाना अपच हुने, पखाला लाग्ने, जुका देखिनेजस्ता पानीजन्य रोग लाग्ने गरेको उहाँले बताउनुभयो । दैनिक अस्पतालमा आउने बिरामीमध्ये पानीजन्य रोगका बिरामी बढी आउने गरेको उहाँको भनाइ छ । बालबालिका र ज्येष्ठ नागरिकहरूमा पखाला लाग्ने, जुका पर्ने, पेट दुख्नेजस्ता समस्या देखिनु फोहोर पानीको कारण भएको डाक्टर थपलियाले बताउनुभयो ।

प्रतिक्रिया