बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा पशुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइयो

सोमवार , भाद्र ३, २०८१

सिन्धुली,– सिन्धुलीमा ५ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार साउन २५ गते देखि ३१ गते सम्म संचालन गरिएको खोप अभियान कार्यक्रममा ५ हजार ४ सय पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाइएको हो ।

अभियान अन्तर्गत कमलामाई नगरपालिकामा ८ सय, दुधौली नगरपालिकामा ८ सय, तीनपाटन गाउँपालिकामा ८ सय पशुमा खोप लगाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै गोलन्जोर गाउँपालिकामा ५ सय ५०, फिक्कल गाउँपालिकामा ५ सय ५०, मरिण गाउँपालिकामा ५ सय ५०, हरिहरपुरगढी गाउँपालिकामा ५ सय ५०, सुनकोशी गाउँपालिकामा ४ सय र घ्याङलेख गाउँपालिकामा ४ सय पशुमा खोप लगाइएको उहाँले बताउनुभयो । सिन्धुलीमा ६ हजार पशुलाई खोप लगाइने लक्ष रहेको उहाँको भनाई थियो ।

अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष सिन्धुली जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखा नपरेको प्रमुख न्यौपानेले बताउनुभयो । पछिल्लो समय स्थानीय तहहरुले लम्पी स्किन रोग बिरुद्धको भ्याक्सीन खरिद गरश्र पशुहरुमा लगाइरहेको हुँदा रोगको संक्रमण घटेको उहाँको भनाई छ ।

प्रतिक्रिया