सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो बनेको छ । स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह गरेबापत पालिका प्रमुख बिमर्श मुक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– ३,२०२४ प्रदान गरिएको छ ।
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७.५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९४.७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको हो । यो अवार्ड प्राप्त गर्दा आफू निकै हर्षित भएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
वि.सं. २०७४ को निर्वाचनमा वडाध्यक्ष निर्वाचित भई काम गर्नुभएका मोक्तान २०७९ को निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
“निरन्तर मेहनत गर्दा सफलता आफैं प्राप्त हुन्छ भन्ने भनाइ आज पुष्टि भएको छ, कामको मूल्यांकन गरेर सम्मान पाउँदा खुसी छु,” उहाँले भन्नुभयो, “हामीले सबैसँग सहकार्य गरेर काम गरेका हौं, सबैको साथ र सहयोगले अहिले गाउँपालिकाले यो अवार्ड पाउन सफल भएको छ । सफलताले सबैमाझ चिनाउँदो रहेछ । जनताको सेवामा हामी यसरी नै निरन्तर लागिरहने छौं ।”
उहाँले गाउँपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधि लगायतका सबैको मेहनतबाट यो प्रतिफल प्राप्त भएको भन्दै मुक्तानले राजनीतिक दल, मरिणवासीलगायत सबैलाई आभार व्यक्त गर्नुभएको छ । अवार्डले आफूलाई अझ मेहनतका साथ काम गर्ने हौसला मिलेको उहाँले बताउनुभयो ।