बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

शरीर फिट राख्न नियमित व्यायमको आवश्यक छः   आले

आइतवार , भाद्र २, २०८१

सिन्धुली – शरीरलाई फिट राख्न नियमित व्यायमको आवश्यक रहेको न्यू सिन्धुली फिजिकल फिटनेश एण्ड जिम सेन्टरका संचालक खेम आलेले बताउनुभएको छ । उहाँले पछिल्लो समय फिटनेश सेन्टरमा युवायुवतीको आकर्षण बढेको बताउँदै आकर्षक शरीर बनाउनका लागि नियमित अभ्यास र अनुशासित जीवनशैली आवश्यक रहेको बताउनुभयो । कमलामाई नगरपालिका ६ मा जिम संचालन गर्दै आउनुभएका आलेले भन्नुभयो, “आकर्षण्क शरीर बनाउन नियमित अभ्यासको एकदमै जरुरत छ । अहिले जिममा युवायुवतीको संख्या बढेको छ । नियमित व्यायाम गर्नाले शरिर स्वस्थ मात्रै होइन फिट पनि हुन्छ । त्यसैले जिममा आउनेको संख्या बढेको छ ।”

नियमित व्यायाम गर्नाले शारिरिकसँगै मानसिक अवस्थामा सुधार आउने आलेले बताउनुभयो । जिममा आबद्ध भएपछि युवायुवति कुलतबाट मुक्त हुने गरेको समेत उहाँ बताउनुहुन्छ । उहाँले जिम गर्न युवापुस्ता बढी मात्रामा आउने गरेका बताउँदै यसलाई उनीहरूले फेसनको रूपमा नै लिइरहेको बताउनुभयो ।

उहाँले लागूऔषधि दुव्र्यसनीहरूका लागि व्यायाम फाइदाजनक भएको बताउनुभयो । उहाँले लागूपदार्थ प्रयोग गर्ने व्यक्तिहरू पनि भर्ना भएको जानकारी दिँदै भन्नुभयो, “जिम र जुम्बा गर्ने व्यक्तिहरूमा लागूऔषधिको प्रयोग विस्तारै हटेको देखेको छु ।’ केटाहरु मोटाउने हिसाबले आउने र केटीहरू दुब्लाउने हिसाबले जिममा आउने गरेको बताउँदै आलेले ७५ प्रतिशत सकारात्मक नतिजा आएको पनि बताउनुभयो ।”

युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन । कसिलो मसल्स तथा पेटमा सिक्स प्याक बनाउने रहर धेरैमा हुन्छ । फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लाग्छ । यो शरीर बनाउने सोखमा मात्र सीमित छैन । सिन्धुलीमा युवाहरू बिस्तारै व्यवसायिक रूपमा समेत यसमा संलग्न हुँदैछन । अहिलेका अधिकांश फिटनेस सेन्टरमा सुविधायुक्त मेसिन उपलब्ध छन्, जुन लगानीका हिसाबले महँगा भए पनि व्यायाममा प्रभावकारी मानिन्छन । एउटा सामान्य फिटनेस सेन्टरमा पूर्वाधारबाहेक पनि न्यूनतम १० लाख रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

जिल्लामा सानाठूला गरी १ दर्जनभन्दा बढी जिम हाउस तथा फिटनेस सेन्टर छन । फिटनेस सेन्टर खुल्ने क्रमसँगै खेलाडी उत्पादनमा समेत वृद्धि भैरहेको छ । साँझ–बिहान २ घण्टाका दरले नियमित कसरत गरे कम्तीमा ३ महिनामा राम्रै उपलब्धि हासिल गर्न सकिने आलेले बताउनुभयो । कसरत गर्दा उचाइ बढ्दैन, हड्डी खिइन्छ भन्ने गलत धारणा पहिले भए पनि अहिले त्यो तोडिसकिएको छ । अझ कुलतमा लागेका युवाहरूलाई सही मार्गमा फर्काउन फिटनेस सेन्टर सहयोगी सिद्ध हुने उहाँको तर्क छ ।

युवाहरू शरीर फिट राख्ने मनसायले फिटनेसमा आउने उहाँले बताउनुभयो । ‘प्रोफेसनल खेलाडी बन्ने सोचले आउने युवाहरू अलि कम छन्, उहाँले भन्नुभयो । सबै उमेरका मानिसहरू अहिले व्यायाममा आकर्षित छन् । शरीर फिट राख्न बिहान एक घण्टा व्यायाम गरे पुग्ने उहाँले बताउनुभयो । व्यवसायिक खेलाडी नै बन्ने हो भने अलि बढी मेहनतको आवश्यकता पर्ने उहाँको तर्क छ । नियमित र निरन्तर कसरतका साथै खेलाडीलाई आवश्यक पर्ने पौष्टिक खानाको खर्च धान्न सामान्य व्यक्तिलाई कठिन हुने आलेले बताउनुभयो ।

प्रतिक्रिया