सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका २ का गोपीलाल सुनुवार खसी चोरीको आरोपमा पक्राउ परेका छन् । गत २३ गते रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ४ का विर बहादुर मगरको गोठमा रहेको तीनवटा खसी चोरी गरेको आरोपमा २७ वर्षिय सुनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सू्रचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
खसि धनि मगरले श्रावण २३ गते राती आफूले पालेको तीनवटा खसी चोरी भएको रामेछाप प्रहरीलाई खबर गर्नुभएको थियो । रामेछाप प्रहरीले उक्त सूचना पश्चात अनुसन्धान गर्ने क्रममा सिन्धुलीको फिक्कल गाउँपालिका २ मा चोरी भएको खसी राखिएको सूचना पाएको थियो । गोप्य सूचना प्राप्त भएपश्चात रामेछाप प्रहरीले इलाका प्रहरी कार्यालय खुर्कोटको समन्वयमा एउटा खसीसहित खसी चोरी कार्यमा संलग्न देखिएका सुनुवारलाई पक्राउ गरेको थियो । सुनुवारलाई रामेछाप जिल्ला अदालत मार्फत चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर न्यौपानले बताउनुभयो ।