बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा दूध बिक्रीबाट छ करोड ३३ लाख आम्दानी

शुक्रवार , श्रावण ३२, २०८१

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाको किसानले दूध बिक्रीबाट ६ करोड ३३ लाख ७४ हजार ५ सय १० रुपैयाँ आम्दानी गरेका छन् । कमलामाई नगरपालिका–३ चपौली र गोलन्जोर गाउँपलिकाको वडा नम्बर ३, ५, ६ र ७ नम्बर वडाका किसानहरूले यस्तो आम्दानी गरेका हुन् ।

गत गत आर्थिक वर्ष २०८०/८१ मा कमलामाई नगरपालिका ३ का १ सय ५० जना किसान र गोलन्जोरका ९८ जना गरी कुल २ सय ४८ जना किसानले ६ लाख ३३ हजार ७ सय ४५ लिटर दूध बिक्री गरेका हुन् ।

गत आर्थिक वर्षमा दूध उत्पादन गरी बिक्री गर्ने कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाका २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान समेत प्रदान गरिएको छ ।

गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार गोलन्जोर गाउँपालिकाले किसानहरूलाई प्रतिलिटर ३ रुपैयाँका दरले ९८ जना किसानहरूलाई ११ लाख ८८ हजार ४ सय १६ रुपैयाँ ४ पैसा दूध उत्पादनमा आधारित रहेर अनुदान वितरण गरेको छ ।

यस्तै कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ रकम वितरण समेत गरेको छ ।

व्यावसायिक रूपमा गाईभैंसी पालन गर्दै आएका किसानहरूबाट दैनिक कम्तीमा ३ लिटरदेखि ३० लिटरसम्म दूध सहकारीमा बिक्री हुने गरेको छ । याहाँका किसानहरूले झण्डै १८ करोड मूल्य बराबरको गाईभैंसी पालन गरेको समेत बताइएको छ । सिन्धुलीको कमलामाई र गोलन्जोर दूध उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।

कमलामाई र गोलन्जोरका सबै वडाका किसानले दूध बिक्री गर्ने गरे पनि यि वडाहरूमा स्थानीय पालिकाले समेत दूध उत्पादनमा अनुदान दिन थालेपछि किसानहरूले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थालेका हुन् । उत्पादित दूध सहकारी संस्थाले गाउँबाटै खरिद गर्ने र समयमा रकम भुक्तानी दिने भएपछि यहाँका किसानहरू व्यावसायिक रूपमा गाईभैंसी पालेर दूध उत्पादनमा लागेका हुन् ।

प्रतिक्रिया