सिन्धुली ,–सवारी दुर्घटनामा गाउँ सभा सदस्य सहित तिन जनाको मृत्यु भएपछि गोलन्जोर गाउँपालिकाले शुक्रबार शोक विदा दिएको छ ।
बिहिबार बनेपा–सिन्धुली–बर्दिवास (विपी) राजामार्गको सिन्धुली–खुर्कोट खण्ड अन्तरगत कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबलक्याप बोलेर दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा तथा गाउँ सभा सदस्य उदय बहादुर मस्राङ्गी सहित तिन जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा एउटै गाउँका १० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गोलन्जोर गाउँपालिका ६ हैबार नाकाजोलीबाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो सिन्धुलीकै कमलामाई नगरपालिका २ चियाबारी नजिकै विपी राजमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का वडा सदस्य वर्ष ४५ का उदय बहादुर मश्राङ्गी मगर, उहाँका नातेदार वर्ष ३५ का पवन मस्राङ्गी मगर र सोही वडाको हैबार बस्ने वर्ष ४२ का पृथ्वी भुजेलको मृत्यु भएको र ११ जना घाईते भएको यस दुःखद घडिमा गाउँपालिकाले शुक्रबार एक दिन शोक विदा दिने निर्णय भएको गाउँपालिकाका प्रबक्ता रेगनराज थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै शुक्रबार गाउँपालिका मातहतका सबै कार्यालयहरुमा शोक विदा दिएको जनाएको छ । गाउँपालिकाले शुक्रबारनै एक शोक वक्तव्य जारी गर्दै मृतक प्रति श्रद्धासुमन तथा परिवारजनमा समबेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । दुर्घटनामा एकै गाउँका यात्रुहरु परेपछि गोलन्जोर ६ हैबार नाकाजोली शोकमा डुबेको छ ।