सिन्धुली – सिन्धुलीमा ९८ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा ९८.५ प्रतिशत धान रोपाई सकिएको हो । सिचाई सुविधा नभएको स्थानमा रोपाइ हुन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको महाभारत क्षेत्र तथा फाँटमा छिटपुट रुपमा धान रोप्न बाँकी रहेको छ । केही दिन यता आकाशे पानी राम्रोसँग परेको हुँदा धान रोप्न बाँकी रहेका ठाउँहरुमा पनि छिट्टै रोपाईं हुने कार्यालयका सूचना अधिकारी उमा देवि श्रेष्ठले जानकारी दिएका छन् । उहाँका अनुसार भदाँको पहिलो सातासम्म सिन्धुलीमा धान रोपाइ कार्य सकिने छ ।
जिल्लाको तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा धान रोपाई सकिएको छ । चार पालिकामा धान रोपाई सकिएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, फिक्कल गाउँपालिकामा ९८ प्रतिशत, हरिहरपुगढी गाउँपालिकामा ९६ प्रतिशत, गोलन्जोर गाउँपालिकामा ९९ प्रतिशत, कमलामाई नगरपालिकामा ९९ प्रतिशत र सुनकोशी गाउँपालिकामा पनि ९९ प्रतिशत धान रोपाई सकिएको छ । सिन्धुलीमा यस वर्ष अधिकांश किसानहरुले सावित्री धान रोपेका छन् । साथै किसानले उन्नत जात अन्तर्गत रामधान, मकवानपुर १, राधा ४, सुख्खा ३ र हाइव्रिड अन्तर्गत यु.एस ३१२, यु. एस, ३०५ धान रोपेका छन् ।
जिल्लाको दुधौली, कमलाखोँच, मरिण क्षेत्र, कमलामाई नगरपालिका, हरिहरपुरगढीमा सिँचाईको सुबिधा भएको कारण बढि धान रोपाई भएको श्रेष्ठले बताउनुभयो । सिन्धुलीमा कुल ६२ हजार ७ सय १३ खेतियोग्य जमिन छ । सो मध्ये ११ हजार १ सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गर्दछ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार यस वर्ष असारको पहिलो साताबाट नै धान रोपाई गरेका किसानहरुले अहिले धान गोड्ने काम सुरु गरिसकेका छन् । विषेशगरी जिल्लाको तिनपाटन गाउँपालिका, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा असार सुरु भएसँगै धान रोपाई कार्य सञ्चालन भएको थियो । श्रेष्ठका अनुसार धान गोड्ने अवस्थामा पुगेका केही किसानहरुको खेतमा गवारो रोग देखा परेका छ ।
जिल्लाको पहाडी क्षेत्रमा भर्खरै धान रोपाई भइरहे पनि कमलामाई नगरपालिकाको केही वडामा भने धान रोपेको १ महिनामै गवारो लागेको किसानको गुनासो छ । वडा नम्बर ११, १२ र १३ मा धानको बिरुवामा गवारो लागेको नगरपालिकाको कृषि प्राविधिकले बताएका छन् । धानको बिरुवाको बृद्धि भएसँगै बर्षेनि देखिने रोग नै हाल धानको बिरुवामा देखिएको कृषि प्राबिधिक बताउँछन् । धानमा लाग्ने गवारो बिभिन्न प्रकारका हुन्छन् । कमलामाई नगरपालिकाको खेतमा देखिएको कवारोको लार्भा हुन् । यसले लार्भाले धानको कलिलो गुभोमा क्षति गरेपछि धानको गुभो मर्ने कृषि प्राविधिकले बताए ।