बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अवैध फोहोर फाल्ने ट्रक नियन्त्रणमा

मंगलवार , श्रावण २९, २०८१

सिन्धुली – कमलामाइ नगरपालिकाले लुकिछिपी सार्वजनिक स्थानमा फोहोर फाल्ने एउटा ट्रकलाई सोमबार नियन्त्रणमा लिइएको छ । कमलामाइ नगरपालिका – ११ फिटिङ्ग पुल नजिकैको घुम्तीमा लुकिछिपी फोहोर फाल्दै गरेको ना ५ ख २९१ नम्बरको ट्रकलाई र फोहोर फाल्ने एकजनालाईलाई नियन्त्रणमा लिइएको नगरपालिकाले जनाएको छ ।

कमलामाइ नगरपालिका – ६ धुराबजार स्थित भगिरथ बैठाले संचालन गरेको कवाड ब्यबसायबाट निस्किएको करिब ७ टन बराबरको बिद्युतिय फोहोरलाई बिपि राजमार्ग सडक छेउबाट खोलामा पुग्नेगरि फाल्दै गर्दाको अबस्थामा ट्रक नियन्त्रणमा लिइएको थियो ।

बिद्युतिय फोहोरहरु लुकिछिपी जथाभाबी फाल्ने ट्रक र कामदारलाई नियन्त्रणमा लिइ नगरप्रहरीको जिम्मा लगाइएको कमलामाइ नगरपालिका बाताबरण शाखाका प्रमुख सागर कुमार ढकालले बताउनुभयो । नियन्त्रणमा लिइएकालाई फोहोर ब्यबस्थापन ऐन २०६८ अनुसार रु ३० हजार देखि ५० हजारसम्म कारबाही हुन सक्ने शाखा प्रमुख ढकालले बताउनुभयो ।

जोखिमपुर्ण फोहोरहरु जथाभाबी फाल्नेहरुलाई नगरपालिकाले निगरानी गरिरहेको बताउनुहुदै ढकालले यस्तो अपराधजन्य गतिबिधी गर्नेलाई नियन्त्रणमा लिइ आबश्यक कानुनी कारबाही गरिने बताउनुभयो । नगरपालिकाले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया