सिन्धुली – ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मुलनाराका साथ सिन्धुलीमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
दिवसका अवसरमा सोमबार युवा सञ्जाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोग र सिड्स नेपाल, जे.एस.डि.पी. सिन्धुली, ह्याण्ड्स नेपालको संयुक्त साझेदारी तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहकार्यमा ‘साइबर अपराध र सुरक्षा तथा दिगो विकासका लागि डिजिटल मार्ग’ विषयक सचेतनामूलक प्रशिक्षण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल चौरसियाले नेपालमा हाल घटिरहेको साइबर अपराधको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले प्रविधिको विकाससँगै प्रयोगकर्ताले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेकाले यसबाट जोगिन सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।
उहाँले इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न बहानामा डर देखाउने, हेप्ने, धम्क्याउने, गलत कुरा फैलाउने, बेइज्जत गर्ने, हिनताबोध गराउने जस्ता घटनाका मुद्दा दर्ता हुने क्रम बढेको बताउनुभयो ।
“इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्ति, समूह, वा संगठनलाई पछ्याइ क्षति पु¥याउने वा सताउने काम भइरहेको पाइन्छ । अरुको चरित्र बिगार्ने उद्देश्यले वेबसाइट, सामाजिक सञ्जाल वा इमेलबाट नराम्रो प्रचार गर्ने गरेको छ,“ प्रहरी निरीक्षक चौरासियाले भन्नुभयो । नेपालमा साइबर अपराधसँग सम्बन्धित कानूनी व्यवस्थाको विषयमा पनि उहाँले प्रस्ट्याउनुभएको थियो ।
यस्ता अपराध हुन नदिन जिल्ला प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउन साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिन अभियान चलाइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा गत आर्थिक वर्ष २०८०÷८१ मा ५१ वटा साइबर अपराधका निवेदन परेका उहाँले जानकारी दिनुभयो । ती निवेदनमध्येमा पनि धेरैजसो फेसबुक ह्याकसम्बन्धी रहेको प्रहरी निरीक्षक चौरसियाको भनाइ छ ।
यही साउन महिनामा पनि जिल्ला प्रहरी कार्यालयमा फेसबुक ह्याक भएका ३ वटा निवेदन परेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, कर्मचारी, युवा तथा बालबलिकाहरुको उपस्थिति रहेको थियो ।
यसअघी जिल्ला युवा सञ्जाल, सिन्धुलीको आयोजनामा सोमबार विहान शन्देसमुलक पम्प्लेट, प्लेकार्ड सहित प्रभात फेरी गरिएको थियो । सिन्धुलीमाडीस्थित लोकतान्त्रिक चोकबाट सुरु भएको प्रभात फेरी गैरीबजार हुँदै २ नम्बर बजारबाट पुनः लोकतान्त्रिक चोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्नु हुँदै प्रमुख जिल्ला अधिकारी भरत खनालले युवामा जागरणको आवश्यकता रहेको धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गदैँ उहाँले देश परिर्वतनको संवाहक युवा नै भएको जिकिर गर्नुभयो ।
युवा सञ्जालका जिल्ला कार्यवाहक अध्यक्ष शन्देस अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भरत खनालको प्रमुख आतिथ्यतामा भएको प्रभात फेरीमा विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु र जिल्लाका युवाहरुको उत्साहमुलक सहभागीता थियो । यसैगरी २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।