सिन्धुली – सिन्धुलीमा पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ । यहि साउन २५ गतेबाट जिल्लामा लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको पशु सेवा कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सिन्धुली र रामेछापका १० हजार गाई भैसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष लिएको कार्यालयले बताएको हो । सिन्धुलीमा मात्रै ६ हजार पशुलाई खोप लगाइने छ ।
पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख प्रभात न्यौपानेले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने बताउनुभयो । क्षति न्यूनीकरणका लागि रोग लागेका तथा रोग लाग्नुअघि नै जिल्ला भित्र रहेका सबै पशुलाई खोप सञ्चालन गरिएको बताउनुभयो । विशेषगरी गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण बढी देखिएकाले खोप अभियान सुरु गरेको उहाँले बताउनुभयो ।
साउन ३१ गते सम्म खोप अभियान चल्ने छ । जिल्लाका नौँ वटै स्थानिय तहमा खोप अभियान सुरु भएको उहाँले बताउनुभयो । “नौ वटै पालिकामा खोप अभियान चल्ने छ । गाई भैँसीलाई खोप लगाउन सम्पूर्ण कृषकलाई अनुरोध गर्छु । गाउँपालिका साथै नगरपालिकाले लम्पी स्किन रोग विरुद्धको खोप उपलब्ध गराउने छ ,” उहाँले भन्नुभयो । स्किन डिजिज नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएकाले सम्पूर्ण कृषकहरुलाई गाई भैंसीलाई बेलैमा खोप लगाएर रोग लाग्नबाट बचाउन प्रमुख न्यौपानेले अनुरोध गर्नुभयो । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने प्रमुख न्यौपानेले बताउनुभयो । “स्वस्थ पशुलाई खोप लगाइन्छ ।” जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ,” उहाँले भन्नुभयो ।
गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको पशु प्राविधिकले बताएका छन् । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने र लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाई–भैंसीमा लाग्ने लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किनको संक्रमण हुन नदिन साउन २५ देखि ३१ सम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो । प्रदेशका १३ जिल्लाका ७६ हजार २ सय ७५ गाई–भैंसीमा लम्पी स्किनविरुद्धको खोप लगाउने लक्ष्य मन्त्रालयको रहेको छ । मन्त्रालयका अनुसार गत आवमा यस रोगबाट प्रदेशमा ११ हजार २ सय १८ गाई–भैंसी मरेका थिए । ३७ हजार ८९ गाई–भैंसी संक्रमित भएका थिए भने २ लाख ५६ हजार ७ सय ५९ पशु प्रभावित बने । गत आवमा २ लाख ४५ हजार २ सय २२ गाई–भैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।