शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

संघर्ष, ज्ञान र विज्ञान पहिल्याओैं

सोमवार , श्रावण २८, २०८१

लेखक : बिनोद दाहाल

मानिसले कसरी सिक्छन् वा बिचार निर्माण गर्छन् ? यो महत्वपूर्ण सवाल हो । माओले आफ्नो छोटो निबन्ध ‘सहि बिचार कहाँबाट आउँछ ?’ मा प्रकृतिसँगको संघर्ष, उत्पादनको लागि संघर्ष र वैज्ञानिक प्रयोगबाट सहि बिचार आउँछ भन्नुभएको छ । सिक्नु वा बिचार निर्माण गर्नु जीवनको लागि महत्वपूर्ण हुन्छ । अझ सहि ज्ञान प्राप्त गर्नु त झनै महत्वपूर्ण हुन्छ । तर यो साम्राज्यवादी युगमा सहि ज्ञान प्राप्त गर्नु त दुर्लभ चिज बनेको हुन्छ । मानिसले सहि ज्ञान प्राप्त गर्नासाथ साम्राज्यवादी युगनै समाप्त हुनेछ । मानिस सिक्नखोज्ने प्राणि हो । जिज्ञाँसा र प्रश्न मानिसको अभिन्न बिषय हुन् । यसले मानिसलाई आवश्यकताको पुर्तिको लागि सचेत प्रयत्न गर्ने स्थितिमा पुर्‍याएको हो । प्रकृतिसँग जोडिएर र मानिसले खोज अर्थात अनुसन्धानको कार्यमा लागेर सिक्दै र प्रयोगहरू गर्दै आफ्नो ज्ञानको भण्डार बढाउँदै लगेको छ । अमेरिकी शिक्षा पढ्नेहरू कसैले साम्यवाद बुझ्दैनन् किनकि त्यहाँ बिचारको बन्ध्याकरण गरिन्छ । सबै साम्राज्यवादका खेताला बनाईन्छन् । धर्मिक शिक्षा लादिएकाहरूले सत्य खोज्ने बाटो बन्द गरिदिएका हुन्छन् त्यसैले ती अन्धविश्वासी हुन्छन् । ती सबै सामन्तवाद र साम्राज्यवादका रक्षक हुन पुग्छन् । साम्राज्यवादी (विस्तारवादसमेत) र सामन्तवाद बिचारका बन्ध्याकरण गरिएकाहरू जनताका दुस्मन हुन् । जति नै उमेर भए पनि र जतिसुकै पढ्यौं भन्ठाने पनि यसको जरोकिलो उखलेर फाल्नुपर्छ भन्ने चेत नखुलेकाहरू अन्ततः साम्राज्यवाद र सामन्तवादका अचेत खेताला नै हुन्छन् । वर्गसंघर्षमा जनतासँग यिनीहरूको सत्ता संघर्ष हुन्छ । नागरिकता बोक्दैमा मानिस जनता भएका हुँदैनन् । देशको स्वाधिनता र जनताको मुक्तिको चेत नखुलेकाहरूको हातमा सत्ता हुनुहुँदैन भन्ने जानकारी भएका नागरिक नै खासमा जनता हुन् । सामन्तवाद र साम्राज्यवादका खेतालाहरू जनता हुनसक्दैनन् । देशले सबैभन्दा पहिले आफ्ना नागरिकहरूलाई जनताको स्तरमा उठाउनेगरी शिक्षा प्रणाली निर्माण गर्नुपर्दछ । मानिसको जीवनमा सिकाईको ठूलो महत्व हुन्छ । मानिसको जीवन दर्शन र जीवन व्यवहार त्यही सिकाईको परिणाम हो । आमा–बा, परिवार, समाज, विद्यालयहुँदै आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विभिन्न गतिविधिमा लाग्दै गर्दा मानिसले धेरै कुरा सिकिसकेको हुन्छ । मानिसको सिकाई र बुझाई सोही अवस्थाको सापेक्षित बनेको हुन्छ । मानिसलाई नयाँ ज्ञान, नयाँ जानकारि र नयाँ अनुभव लिनको लागि नयाँ बस्तुगत अवस्थाको आवश्यकता हुन्छ । त्यसो गर्दा पनि त्यसअघिको शिक्षा, ज्ञान र अनुभवको प्रभाव रहने गर्दछ । मानिस मुलतः आफू भन्दा अघिल्लो पुस्ताका मानिस र तिनको व्यवहारबाट बढि सिक्दछ । मानिसको जीवन दर्शन वा बिचारधारा स्वतःस्फुर्त हुनेगर्दैन, त्यो पुरानो बस्तुगत जगत र नयाँ स्थितिको उपज हुन्छ । सामन्तवादी, साम्राज्यवादी र विस्तारवादीले यसलाई मिहिन रुपमा बुझेर बाल दिमागमै बाआमाको माध्यमबाट नै धर्मको बिष पिलाएर दिग्भ्रमित पारिदिने गर्दछन् । मानिसलाई बाँचुञ्जेल यस्तै भ्रमको जालमा पारेर बौद्धिक अपांग बनाईदिने गर्दछन् । शुरुका दिनमा मानिस आफ्नो भौतिक आवश्यकताका लागि सोच्ने गर्दथे । यही क्रममा उसको प्रकृतिसँगको सामित्यता बढ्यो । मानिसले उस्को मनमा प्रकृतिका रहस्यहरूबारेमा कुरा खेल्नथाल्यो । यस बिषयमा चिन्तन गर्दै वा सोच्दै गर्दा धेरै ज्ञानहरू प्राप्त हुँदै गए । उक्त ज्ञानलाई जीवनउपयोगी बनाउँदै लानेक्रममा हुँदा नै समाज वर्गीय हुँदै गैरहेको थियो । वर्गीय समाजमा ज्ञान बिवादमा प र्‍ र्यो– शोषक वर्गको लागि अभिशाप र शोषीत वर्गको लागि वरदान । त्यसैले वर्गीय समाजमा ज्ञानले सत्यको पक्षपोषण गर्ने भएकाले कुन वर्गको सेवा गर्ने भन्ने सवाल उठ्यो । स्वभाविक रुपमा ज्ञानले उत्पादक शक्तिको पक्ष लिने स्थिति देखिएपछि शोषक वर्गले ज्ञानको दायरालाई खुम्च्याएर आफ्नो स्वार्थको लागि उपयोगमा आउने हदसम्म मात्र खुल्ला गरेर लानुपर्ने जरुरी भयो । यसरी ज्ञानको क्षेत्रलाई साँगुरो बनाउन बिचारका श्रोतहरूमाथि नियन्त्रण गर्नुपर्ने भएर धर्मको आविस्कार गरिदिए । धर्मले शोषक वर्गको सेवा गर्ने भएकाले समाज विकासको चरण अनुसार संसारभर धर्महरूको विकास गर्दै लगे र समाजमा त्यो जबर्जस्ती लदाउने दुस्कर्म गरे । मालिक, जिमदार वा सामन्त वा राजा साहुँ तथा पुँजीपति हुँदै अहिले सामन्तवाद, साम्राज्यवाद, विस्तारवादले यो दुस्कर्म गरिरहेका छन् । अहिले मानिसका ज्ञानका श्रोतहरू बन्दगरिएका छन् । वालकैमा परम्परा र रुढिवादमार्फत धर्म लादिने गर्छ र मानिसलाई बौद्धिक अपांगको स्थितिमा पुर्‍याइन्छ । यतिखेरदेखि नै सत्यको खोजी गर्ने प्रक्रिया र बिधिबाट टाढा पुर्‍याइसकिएको हुन्छ । अहिले पनि ज्ञान–विज्ञानबाट मानिसलाई टाढा राखिन्छ । सानैदेखि शिक्षा दिने नाममा बुर्जुवा बनाउँदै लगिन्छ, सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी हस्तक्षेप र शोषणलाई स्वभाविक बनाइन्छ । मानिसलाई एकढङ्गदे आधुनिक दासको अवस्थामा पुर्‍याइन्छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन तथा बृत्तिविकासमा लगाउन पाउने श्रमजीवी वर्गको अधिकार पैसाको लोभमा पारेर थाहै नहुने वा पाउनै नसकिने बनाइदिएका छन् । मानिसको सोच्ने वा बिचार गर्ने हक र क्षमतालाई यो स्तरसम्म गिराईदिएका छन् । जीवनव्यवहारका क्रममा मानिसमा बिचार निर्माण भएको हुन्छ । यही आधाारमा मानिस आफ्नो मूल्य र मान्यतामा रहने गर्दछ । मूल्य र मान्यतामा रहेर व्यवहार गर्दा मानिसलाई अनेकौं समस्याहरू आईलाग्छन् जुन संघर्षको माध्यमद्वारा हल गर्न पुग्दछन् । यो कठोर साध्य हुन्छ तर पनि मानिस बिकल्पबिहीन भएर संघर्षमा डट्ने गर्दछ । यही क्रममा मानिसमा प्राप्त हुने ज्ञान र विज्ञानबाट मानिसको सामाजिक जीवन बनेको हुन्छ । त्यसैले मानिसले संघर्ष, ज्ञान र विज्ञान अपनाउन वाध्य हुन्छन् ।

प्रतिक्रिया