बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा लापसे परिक्षणः तीनजना प्रहरीको नियन्त्रणमा

शनिवार , श्रावण २६, २०८१

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लामा पहिलो पटक सवारीचालकले लागुपदार्थ सेवन गरेको वा नगरेकोबारे सडकमै लागुऔषध सेवनकर्ताको परीक्षण गर्न सुरू गरेको छ ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरण र सवारी साधनको माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्यसहित कमलामाई नगरपालिका वडा नम्बर ९ भिमान स्थित विपी राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुलाई पहिलो पटक लागु औषध सेवन गरेको वा नगरेको बारे परीक्षण गरेको हो । जिल्लाभित्र रहेका मुख्य तीन मार्गहरु विपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चालक र सहचालकको रक्तचापको अवस्था, आँखा जाँच लगायत मादक पदार्थ, लापसे सेवन गरेको, नगरेको चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।

शुक्रबार ३८ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गर्दा एक जना बस र एक जना ट्रक चालक गरी दुई जना सवारी चालक र एक जना बसको सहचालकले लागु औषध सेवन गरी सवारी चलाएको पुष्टि भएको थियो । चेकिङका क्रममा औषध सेवन गर्ने चालक र सहचालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको प्रहरी काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार उनिहरुलाई अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ ।

“सवारी साधन चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुन्छ । यही जोखिमलाई ध्यानमा राख्दै आजबाट सुरु गरिएको सवारी चालक र सहचालकले लागु पदार्थ सेवन गरेको, नगरेको पत्ता लगाउन थालिएको परीक्षण अभियान निरन्तर जारी राख्ने छौँ,” प्रहरी उपरिक्षक काफ्लेले भन्नुभयो, “हामी फरक ठाउँमा फरक समयमा परीक्षण गछौँ । र कसैले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको भेटिएमा कानूनी कारर्वाही गर्ने छौँ ।”

प्रमुख जिल्ला अधिकारी भरत खनालले लागु पदार्थ दुव्र्यशनी देशभर व्यापक रुपमा बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सवारी साधनका चालक तथा यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुले विशेषगरी लागु पदार्थको ओसारपसार र लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको उहाँको भनाई थियो ।

“विशेषगरी सवारी चालकहरुले लुकाएर लागु पदार्थ एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने गर्नुहुन्छ, यो राष्ट्रको लागि जटिल समस्या भएको छ,” प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “सडकमा लापसे चेकजाँच गरेर हामीले तपाईहरुलाई दुःख दिएको होइन, यो कार्य तपाईहरुको सुरक्षाकै लागि गरिएको हो ।” उहाँले लागु पदार्थ सेवन रोक्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले सिन्धुली प्रहरीको सक्रियताको प्रसंशा गदैँ यी र यस्ता अभियानले सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । कसैले पनि नियम विपरीत तथा दण्डनीय कार्य गर्न नहुने उहाँको भनाई थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुली प्रमुख मञ्जु कुमारी रानाले ट्राफिक नियमको पूर्ण पालना गरेर मात्रै सवारी साधन चलाउन आग्रह गर्नुभयो । ट्राफिक नियम विपरित सवारी चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल खबर गर्नुहुन अनुरोध गर्नुभयो । सिन्धुली प्रहरीले ट्राफिक नियमका बारेमा सवारी चालक, यात्रु र अन्य सर्वसाधनणलाई सचेतसमेत गराउँदै आएको छ

यहाँका मुख्य सडकहरुमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । जिल्लामा हुने अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ तथा लागु पदार्थ सेवन गरेर चलाउँदा हुने गरेको पाइएको छ ।

प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागु औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ ।

प्रतिक्रिया