सिन्धुली – सवारी दुर्घटनाको एक कारण लागु पदार्थ सेवन (लापसे) रहेको पाइएपछि सिन्धुली प्रहरीले लापसे जाँच अभियान चलाउने भएको छ । लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि लापसे जाँच अभियान सुरु गरिन लागेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “सिन्धुली जिल्ला धेरै राजमार्गले छोएको जिल्ला साथै धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला भएकाले बाह्य जिल्लाका हजारौँ नागरिक आवतजावत गरिरहेका हुन्छन् । जिल्ला भित्रका साथै जिल्ला बाहिरका नागरिकले लागु पदार्थ सेवन गरेर सवारी चलाउने गरेको गुनासो पनि आएको छ । जिल्लामा लागुऔषध न्यूनिकरणका लागि पनि हामीले लापसे चेकजाँच गर्न लागेका हौँ ।”
बागमती प्रदेशले जिल्लामा २ सय लापसे चेक गर्ने किट पठाउने उहाँले बताउनुभयो । “जिल्लामा लापसे परिक्षण गर्ने किट केही दिनमै आउँछ । हामीले लापसे परिक्षण गर्ने तयारी गरिरहेका छौँ ,” उहाँले भन्नुभयो ।
लापसे परिक्षणका लागि शौचालयको आवश्यक भएकाले निर्माण भएको सार्वजनिक शौचालयलाई व्यवस्थित गर्ने र शौचालय निर्माणका लागि स्थानिय तहसँग समवन्य गरिरहेको प्रमुख काफ्लेले बताउनुभयो । “लापसे परिक्षण गर्न शौचालयको आवश्यक पर्छ । सार्वजनिक शौचालयलाई व्यवस्थित गर्न साथै मर्मत गर्न र नयाँ शौचालय निर्माणका लागि स्थानीय तहसँग कुरा गरिरहेको छु । अब छिटै नै जिल्लामा लापसे परिक्षण हुने छ ,” उहाँले भन्नुभयो ।
ड्रग युरिन टेस्ट किटबाट लापसे परिक्षण हुनेछ । प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा जिल्लाको विभिन्न स्थानमा बसेर लापसे परिक्षण गर्ने छ । “लापसे परीक्षणका लागि पहिले मानिसको पिसाब संकलन गरिन्छ । किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागू पर्दाथ सेवन गरे÷नगरेको पत्ता लाग्छ । पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । एउटा मात्रै धर्का देखिँदा लागू पदार्थ सेवन गरेको पुष्टि हुन्छ । अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने मान्नुपर्छ । २ वटा राता धर्का देखियो भने लागू पदार्थ सेवन गरेको छैन भन्ने यकिन हुन्छ । त्यो रिपोर्ट नेगेटिभ हुन्छ ,” प्रमुख काफ्लेले भन्नुभयो ।
लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किटको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग्स, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ । लागूपदार्थ सेवन गरेको देखिएमा लागूपदार्थ ओसारपसार तथा सेवन ऐन अन्तर्गत कारबाही गर्न सिफारिस गरिने प्रमुख काफ्लेले बताउनुभयो । जुनसुकै समयमा तथा स्थानमा लापसे चेक गरिने उहाँले बताउनुभयो ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको बताएको छ । यति हुँदा पनि सवारी चालकले नियम पालना गर्नुलाई झन्झटिलो ठान्दा दुर्घटना हुने र त्यसको क्षति स्वंमले व्यहोर्दै आएको प्रहरीको भनाइ छ । त्यस्तै विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा चालक, अभिभावक तथा राजमार्गमा चल्ने सवारी चालकको आँखा जाँच गर्नुका साथै ट्राफिक नियमबारे जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले बताएको छ ।