बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा दुइ हजार बढी भारतिय बोलबम तीर्थयात्री भित्रिए

शुक्रवार , श्रावण २५, २०८१

सिन्धुली – सिन्धुलीमा हजारौँ बोलबम तीर्थयात्री भित्रिएका छन् । भारत लगाएत छिमेकि जिल्लाबाट दैनिक सयौँ बोलबम भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

भारतबाट मात्रै दैनिक एक सय १५ बोलबम तीर्थयात्री भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो । उहाँका अनुसार दैनिक २९ वटा सवारी भारतबाट सिन्धुली आउने गरेका छन् । “दैनिक २९ वटा भारतीय नम्बरका सवारी साधन जिल्ला प्रवेश गर्ने गरेका छन् । बोलबम यात्री दैनिक सयौँ आउने गरेको हामीले राखेको रेकर्डमा देखिन्छ । जिल्ला भित्रका शिवालयमा दर्शन गर्ने आउँछन् ” उहाँले भन्नुभयो । साउन महिनामा दुई हजार दुई सय भारतिय नागरिक जिल्लामा प्रवेश गरेको उहाँले बताउनुभयो । “साउन २० गते सम्म भारतबाट दुइ हजार दुइ सय बोलबम जिल्ला आएका छन् । ५ सय ८० वटा सवारी साधन प्रवेश गरेका छन् । साउनमा महिना भरि विषेश गरि भारतबाट बोलबम आउने गर्दछन् ” उहाँले भन्नुभयो ।

साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजा गर्ने भक्तहरूको भिड लाग्ने गर्छ । त्यस्ता भक्त एवं तीर्थयात्री बोलबम, डाकबम, दण्डवत बमलगायत उपनामले पुकारिन्छन् । हजारौं तीर्थयात्रीको भिडले विपि राजमार्ग, मध्यपहाडि राजमार्ग र मदभण्डारी राजमार्ग अस्तव्यस्त बनेको छ । सिन्धुली हुदै आवतजावत गर्नेको संख्या बढेको छ । जिल्ला भित्रका शिवायल मन्दिरमा पनि भारतबाट आएका बोलबमको भिड बढेको छ ।

तीर्थयात्राको बहानामा बोलबमको भेष धारणा गरेर आउने अधिकतर भारतीय युवा मदिराजन्य पदार्थ खुला सेवन गर्न पाइने भएका कारण आउने गरेको पाइएको छ । विपि राजमार्ग क्षेत्रका होटलमा पसेर बियर सेवन गर्ने त्यस्ता तीर्थयात्रीको घुइँचो देखिन्छ । बोलबम तीर्थयात्रीलाई भारत र नेपाल दुवैतर्फका प्रहरीले सामान्य जाँचसमेत नगर्ने भएकाले भारतबाट आउने तीर्थयात्रीमध्ये कतिपयले लागूऔषध नेपालतर्फ ओसारपसार गर्ने गरेको स्थानीय बताउँछन् । “बोलबम भन्नेबित्तिकै कतै जाँच हुँदैन, अनि जेजे गरे पनि भइहाल्यो,” एक स्थानीयले भने, “अचेल बोलबम तीर्थयात्री रूपमा शिवालय आउने भारतीय युवाले लागूऔषधका रूपमा प्रयोग हुने ट्याब्लेट, कफ सिरफलगायत ल्याएर यताका युवालाई बेच्ने गरेका छन् ।”

अन्य समयमा घरपरिवारबाट कडाइ हुने भएकाले बोलबमकै बहानामा भारतका विभिन्न गाउँका युवायुवतीहरू मन्दिर दर्शन गर्ने बहानामा रमाइलो गर्न आउने गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । बोलबम यात्रुलाई नियमित चेकजाँचमा कडाई गरेको उहाँले बताउनुभयो । दैनिक मापसे लगाएत ट्राफिक नियम सम्बन्ध चेकजाँच गरेको प्रमुख काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया