सिन्धुली – राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको सयुक्त आयोपजनामा नेपाल रेक्रमस सोसाईटी सिन्धुली,जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली र कमलामाइ नगरपालिकाको स्वास्थ्य शाखा संगको सहयोगमा बुधबार चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको हो ।
धेरै जसो सडक दुर्घटनामा चालकको असावधानी र स्वास्थ्य कमजोरीका कारण हुने भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो । चालकहरुको स्वास्थ्य परिक्षणले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आफुहरुको रहेको काफ्लेले भन्नुभयो ।
स्वास्थ्य परिक्षणमा चालक तथा सहचालकको उच्च रक्तचाप, आँखाको अवस्था जाँच गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो । जिल्लामा तीन वटा राजामार्गहरु मदनभण्डारी राजमार्ग र बिपि राजमार्ग मध्यपहाडी राजमार्ग हुँदै देशैभरका सवारीसाधन संघीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लामा पनि यस्तो अभियान संचालन गर्न सके केही हद सम्म भएपनि दुर्घटनामा कमी आउने विश्वास आफुहरुले लिएको काफ्लेले बताउनुभयो ।
बुधवार विशेषगरी बिपिराजमार्गमा आवतजावत गर्ने सवारी साधनका चालक सहचालकको सिन्धुलीले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव नहुने भएकाले यो सन्देश मुलक रुपमा पनि गरिएको उहाँले बताउनुभयो ।