सिन्धुली – सिन्धुलीमा प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रण गर्न सक्रियता बढाएको छ । प्रहरीले मापसे गरी सवारी साधन चलाउनेलाई चेकजाचँ गरि कारबाही गरिरहेको छ । जिल्लामा दैनिक दुई जना मापेस गरी सवारी चलाउने कारबाहिमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।
हाल विपि राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्गमा बोलबोमको नाममा भारतीय सवारीको आवतजावत बढेको छ । सिन्धुली हुदैँ अन्य जिल्लाको शिवालय साथै यहाँका शिवालय दर्शनका लागि बोलबम आउनेको संख्या बढी छ । सवारी साधनको चाप बढेसँगै मापसे गरेर सवारी चलाउनेको संख्या पनि बढेको एसपी काफ्ले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले बोलबमको नाममा हजारौँ भारतिय नागरिक सिन्धुली हुदै साथै सिन्धुलीको शिवालय मन्दिर दर्शन गर्न आउँने गर्दछन् । बोलबमका लागि आएका अधिकाशं भारतिय नागरिकले मापसे गर्ने गरेको पाइन्छ । हाल हामीले मापसे गरेर सवारी चलाउनेको चेकजाँच कडा गरिरहेका छौँ । ”
मापसे नियन्त्रणका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको प्रमुख काफ्लेले बताउनुभयो । साउन महिनाको १५ गतेसम्म ३२ जना मापसे गरेका सवारी चालकलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । ३२ जना चालक कारबाहिमा पर्दा १२ हजार राजश्व संकलन भएको छ ।
यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे चेकिङ प्राथमिकतामा राखिएको छ । चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको छ । लहै लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको प्रहरीले बताएको छ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ । एकपी काफ्ले भन्नुहुन्छ, “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।”
मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त छैनन् । यसका वावजूद चेकजाँचमा प्रहरीको सक्रियता कायम नै छ । नियमित चेकिङको साथै जुनसुकै समयमा चेकजाँच हुने गरेको छ । मापसे चेकिङलाई थप प्रभावकारी बनाउने सम्बन्धमा प्रमुख काफ्ले भन्नुहुन्छ, “मापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक छ । यही कुरालाई मनन गरेर सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर हामी अगाडि बढेका छौं । हाम्रो मुख्य ध्यान भनेको दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो ।”