बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा झ्याप्पझ्याप्प बिजुली किन गइरहेको छ ?

सोमवार , श्रावण २१, २०८१

सिन्धुली – कमलामाई नगरपालिका ४ की सरिता रम्तेल जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन पालो कुर्दै हुनुहुन्थ्यो । बत्ति आउनेजाने भएकाले कार्यालयको सेवा प्रभावित भएको थियो । “एक घण्टा देखि पालो कुरिरहेको छु । बत्ति नभएकाले ढिलो भएको कर्मचारीले बताएका छन् । बत्ति नहुदाँ सम्पूर्ण सेवा बन्द हुने रहेछ । आज बत्ति आउनेजाने भइरहेको छ ,” रम्तेलले भन्नुभयो । आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सिन्धुली, जिल्ला प्रशासन कार्यालय लगायत ठाउँमा विद्युत नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ छ ।

बत्ती आउनेजाने हुदाँ रातको समयमा अध्ययन गर्न समस्या हुनेगरेको घ्याङलेख गाउँपालिका हायुटारका सन्तोष तामाङले बताउनुभयो । “भोली देखि परिक्षा छ । दिनमा त उज्यालो हुन्छ बत्तीको आवश्यक पर्दैन तर राती पढ्न बत्ती नै चाहिन्छ । बत्ती नहुदाँ रातको समयमा पढ्नै पाइन्न् ,” उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका ५ की सकुन्तला परियार पनि बेलुकी पढ्न नपाएको गुनासो गर्नुहुन्छ । अघोषित लोडसेडिङले गृहकार्य पूरा नगरेरै विद्यालय जाने गरेको उहाँ सुनाउनुहुन्छ । “म कक्षा ७ मा पढ्छु । साझमा स्कुलबाट घर आउँछु । खाजा खादाँ केहि समय आराम गर्दा राती हुन्छ । राती होमओर्क गर्न बत्ती नै हुन्न । विहानै फेरि स्कुल जानुपरिहाल्छ,” उहाँले भन्नुभयो । बत्ती आउनेजाने समस्याले आफ्नो बालबालिकाकोे बेलुकी पढ्ने बानी हट्ने डर बढेको अभिभावकले गुनासो गरेका छन् ।

जिल्लामा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । “कति खेर बत्ती जान्छ टुंगो हुदैन । आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ”, स्थानीयवासी रमेश सापकोटाले भन्नुभयो, “कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन”, बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय बिजुलीका सामान व्यापारीको पनि गुनासो छ । “विद्युतबाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ”, व्यापारी मिलन न्यौपानेले भन्नुभयो ।

केहि दिन देखि जिल्लामा बत्ति आउनेजाने समस्या भइरहेको छ । वर्षाको कारण लाइन फल्ट भएकाले बत्ती आउनेजाने भएको विद्युत प्राधिकरण सिन्धुली केन्द्रका इन्जिनियर सिसिर लम्सालले जानकारी दिनुभयो । वर्षाले धेरै ठाउँमा लाइन फल्ट भइरहेको उहाँले बताउनुभयो । “केहि दिन देखि निरन्तर वर्षा भइरहेको छ । रुख डल्ने, रुखको हाँगाले विद्युतको तारमा छुने लगाएतको समस्याले फल्ट हुन्छ । हामीले समस्या भएको स्थान पत्ता लगाई मर्मत गरिरहेका छौँ ,” उहाँले भन्नुभयो । विद्युत्त फल्ट हुने वित्तिकै तत्काल कर्मचारी परिचालन गरेर मर्मत गरिरहेको उहाँले बताउनुभयो । “हामीलाई कहाँ विद्युत्त फल्ट भएको भन्ने पत्ता लगाउनै समय लाग्छ । त्यसै कारणले पनि लामो समय विद्युत जानेआउने समस्या हुन्छ ”’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया