बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा धान खेतीमा गभारो किराको संक्रमण

बिहिवार , श्रावण १७, २०८१

सिन्धुली – सिन्धुलीमा धान खेतीमा गभारो किराको संक्रमण देखिएको छ । धानको डाठ पहेलो हुने रोग देखिन थालेको किसानले बताएका छन् । कमलामाई नगरपालिका १२ का शिव कार्कीले २० कठ्ठा जमिनमा लगाएको धान खेतीमा रोग देखापरेको भन्दै गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “केहि दिन अगाडि मात्रै गोडेको धान डाठ पहेलो हुदै गएको छ । केहि भागमा धानको गुवा नै मरेको छ ।” उहाँको झण्डै पाँच कठ्ठा बढीमा धानको गुबो गबारोले खाएर क्षति गरेको छ । “धान रोपिएको महिना दिन नपुग्दै गबारोको समस्या देखिएको छ” उहाँले भन्नुभयो, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।”

यस्तै, सोहि स्थानका केदार सिवाकोटीको पनि खेतमा लगाएको धान गोड्ने बेला नहुँदै मर्न थालेको छ । गाभा कुहिने रोगले धान सखाप भएकोमा उहाँ चिन्तित हुनुहुन्छ । साता अघिसम्म केही नभएको धान तीन दिनको फरकमा पहेंलो भएको उहाँले बताउनुभयो । धानको फेद र डाँठ पहेलो हुने, सुक्दै जाने र कुहिने गरेको हो ।

कमलामाई नगरपालिका ११ को छत्तिबन, बेसारे, जरायोटार, मंग्रातिटोल, थरहरी र वडा नम्बर १२ को मरङगे, तोरीस्वारा, कवासे, पहेँलोभित्ती, बुदुना लगाएतको ठाउँमा लगाएको धान खेतीमा रोगको संक्रमण देखिएको कमलामाई नगरपालिकाको कृषि प्राविधिकले बताएका छन् । कमलामाई नगरपालिका वडा ४ को फाँटमा पनि धान कुहिएको किसानले गुनासो गरेका छन । “यो वर्ष धेरै पानी परेकाले उत्पादन राम्रो होला भनेको त महिना दिन नहुँदै बोट कुहियो,” कमलामाई नगरपालिका ४ ढकालगाउँका रामप्रसाद पौडेलले भन्नुभयो । उहाँको मात्रै १५ कठ्ठामा रोपेको धानमा रोग देखिएको बताउनुभयो । पर्याप्त वर्षा भएकोले यो वर्ष छिटै रोपाइँ सकिएको थियो ।

एकाएक बोट कुहिने रोग आएपछि प्राविधिक खटाएर समस्या पत्ता लगाउने काम भइरहेको कमलामाई नगरपालिकाले जानकारी दिएको छ । ‘“हामी पुग्दा ढुसीजन्य रोग फैलिएको देखियो, तत्काल रोकथामका लागि चाहिने विषादी मगाएर किसानलाई दिने क्रममा छौं,” नगरपालिकाका कृषि प्राविधिक लिलानाथ देवकोटाले भन्नुभयोे, “तत्काल औषधि राखेपछि कुहिएको भाग गए पनि फेरि पलाउँछ ।” त्यसबाहेक कुहिएको भाग सफा गर्न पनि किसानलाई उहाँले आग्रह गनुभयो । उहाँका अनुसार धान खेतीमा एल्लो स्टेम बोरर ‐गभारो) किराको संक्रमण देखिएको छ । यो किरा वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतली हुन्छन् । लाभ्रेहरु फिका पहेँलो अथवा गुलाबी रंगका अथवा शरीरमा धर्का भएका हुन्छन् यिनीहरु विरुवाको डाँठ भित्र रहन्छन् । विरुवाको कलिलो अवस्थामा आक्रमण भएका मृत गावा देखिन्छन् यदि विरुवाको फुल्फुल्ने अवस्थामा आक्रमण भएका भुस मात्र भएको सेतो वाला देखिने देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया