बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिणका १७९ छात्रालाई साइकल वितरण

बिहिवार , श्रावण १७, २०८१

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयको कक्षा ११/१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई बुधबार एक कार्यक्रमका विच साइकल वितरण गरिएको हो ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ‘प्लस टु’ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो । “पालिका भित्र रहेका दुई वटा उच्च माध्यमिक तहमा अध्ययनरत १ सय ७९ जना विपन्न, दलित, आदिवासी जनजाती छात्राहरुलाई साइकल वितरण गरिएको हो,” मोक्तानले भन्नुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि छात्राहरुलाई विद्यालयसम्म आउनजान सहज होस भन्ने उद्देश्यले छात्राहरुलाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीका अनुसार मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालयका १ सय २७ जना र मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालका ५२ जना छात्राहरुलाई गरी कुल १ सय ७९ वटा साइकल वितरण गरिएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षको निति तथा कार्यक्रममा प्लस टु अध्ययनरत छात्राहरुलाई साइकल वितरणमा बजेट विनियोजन गरेपनि साइकल खरिद गर्दा विद्यालय वर्षे विदा भएकाले वितरणमा ढिलाई भएको उहाँको भनाई छ ।

गाउँपालिकामा रहेका विद्यालयहरुमध्ये दुईवटामा मात्र उच्च शिक्षा संचालन भएका कारण विद्यार्थीहरु एक देखी दुई घण्टासम्मको पैदल हिडेर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा पनि पहिलो पटक १ सय ६० जना छात्राहरुलाई साइकल वितरण गरेको थियो ।

साइकल वितरण कार्यक्रममा मावि कपिलाकोटाका प्रध्यानध्यापक अमृत सिं घिसिङ र मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले छात्राहरुले साइकल पाउँदा विद्यालयमा नियमित अध्ययनका लागि आउन जान सहज भएको बताउनुभयो ।

उनिहरुले यातायातको सहज पहुँच नहुँदा र घरव्यवहारले समय निकाल्न नसक्दा कतिपय छात्राहरुले विचैमा पढाई छाड्ने गरेकामा सयसरी साइकल वितरण हुँदा पढाईलाई निरन्तरता दिने र छात्राहरुमा हौसला समेत बढ्ने गरेको उल्लेख गरे

पालिका भित्रका सबै विद्यालयमा विद्यालय बस नहुँदा कतिपय छात्राहरुले विद्यालय जान आउन सास्ती खेप्दै आएका थिए । पालिकाले साइकल वितरण गरेपछि आफुहरुमा सहजता मिल्ने छात्राहरुले प्रतिक्रिया दिएका छन ।

यसैविच गाउँपालिकाले पालिका भित्रका ९ वटा बालविकास केन्द्र र एक वटा आवसिय विद्यालयका छात्र तथा छात्राहरुलाई शैक्षिक समाग्री समेत वितरण गरेको छ । ब्याग, कपडा, ब्रस, नङकट लगायत शैक्षिक सामाग्री वितरण गरिएको मरिण गाउँपालिका अन्तरगत शिक्षा शाखा प्रमुख नवराज बरालले बताउनुभयो ।

प्रतिक्रिया