सिन्धुली १६ साउन — लगातारको वर्षापछि खसेको पहिरोले मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत चार वटा स्थानमा बुधबार बिहानैदेखि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करेभिरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिकाको वडा नम्बर २ को कुखुरेटारमा ढुङ्गामाटोसहित लेदो खसेर सडकमा थुप्रेर यातायात अवरुद्ध बनेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनकाअनुसार फिक्कल गाउँपालिका–४ खाङसाङ खोलामा आएको बाढीले यातायात सञ्चालन हुन सकेको छैन । पालिकाहरूबाट स्काभेटर मगाएर पहिरो पन्छाएर यातायात सुरु गर्ने प्रयास भइरहेको एसपी काफ्लेले जनाए ।