बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका नौ वटै स्थानियतह सडक सञ्जालसँग जोडिए

मंगलवार , श्रावण १५, २०८१

सिन्धुली – सिन्धुलीका नौ वटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कमलामाई, दुधौली नगरपालिका र तिनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोशी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् । ९ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ ।

दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको नगरप्रमुख दिनेश अधिकारीले बताउनुभयो । “नगरपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन” उहाँले भन्नुभयो, “मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएका छन् । ग्रामिण भेगका वडामा पनि सडक विस्तार भइसकेको छ ।”

मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको नौ वटा वडा छोएको छ । राजमार्गले वडा नम्बर १,२, ३, ४, ५, ७, ८, ९ र १० नम्बर वडालाई छोएको मेयर अधिकाले बताउनुभयो । साथै नगरका वडा भित्र स्थानीय सरकार, प्रदेश र संघको सहयोगमा कालोपत्रे सडक समेत निर्माण भएका छन् । “वडाका भित्रि सडक पनि कालोपत्रे निर्माण भएको छ । एडिभिको सहयोगमा वडा नम्बर १० र वडा नम्बर १३ जोड्ने सडक कालोपत्रे भएको छ । साथै वडा नम्बर ३ बाट वडा नम्बर ६ जोड्ने पनि कालोपत्रे सडक निर्माण भएको छ ,” उहाँले भन्नुभयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमितामा राखेर काम गरेको नगरप्रमुख अधिकारीको भनाइ छ । स्थानिय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँले बताउनुभयो । “स्थानिय सरकार आए सँगै गाउँगाउँमा मोटबाटो पुगेको छ । प्रत्येक वडाको आफ्नै भवन निर्माण भएको छ । दुधौली नगरपालिकाको प्रशासनिक भवन समेत निर्माण भएको छ ,” उहाँले भन्नुभयो ।

तिनपाटन गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले जानकारी दिनुभयो । गाउँपालिकाको ११ वटै वडामा सडक विस्तार भएको उहाँको भनाइ छ । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौँ” उहाँले भन्नुभयो, “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।”

कमलामाई नगरपालिकाको १४ वटै वडामा सडक विस्तार भएको छ । ग्रामिण भेगमा विस्तार भएको सडकमा भने बर्खाको समयमा बन्द हुदाँ स्थानियले सास्ति खेपनु परेको गुनासो गरेका छन् । नगरपालिकाको धेरै वडा विपि साथै मदभडारी राजमार्गसँग जोडिएका छन् । गाउँमा सडक विस्तार हुदाँ स्थानिय उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको स्थानियहरुले बताएका छन् ।

मरिण गाउँपालिकाको पनि सबै वडामा सडक विस्तार भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ मा भने कच्चि सडकको कारण वर्खाको समयमा समस्या हुने गरेको उहाँको भनाइ छ । यस्तै गोलन्जोर गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको छ । जिल्लाको सुनकोशी, घ्याङलेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकाका वडा सडक सँग जोेडिएका छन् ।

“नौ वटै स्थानिय तह सडक सञ्जालले जोडिएसँगै यहाँका उत्पादनले बजार पाउन थालेका छन् । कृषि उत्पादन खरिद गर्नका लागि व्यापारीहरु घर आँगनमै आउन थालेका छन्,” कमलामाई नगरपालिका ३ का किसान विष्णु अधिकाले भन्नुभयो,“तरकारी, पशुपालन र अन्य उच्च मूल्यका कृषि बस्तुका लागि प्रख्यात ठाउँ भएपनि सडक सञ्जालले ओझेलमा थियो ।” उहाँले सडक सञ्जालले जोडिएसँगै स्थानिय उत्पादनले बजार भएको बताउनुभयो ।

प्रतिक्रिया