सिन्धुली – सिन्धुलीमा झण्डै साढे दुइ करोडको भ्यूटावर प्रयोग विहिन भएको छ । जिल्लाको कमलामाई नगरपालिका ४ च्याउकोट शिद्धबाबा मन्दिर नजिकै निर्माण भएको शिद्धबाबा भ्यूटावर प्रयोग विहिन भएको हो । भ्यूटावर बागमती प्रदेशको कुल दुइ करोड ४८ लाख ६२ हजार लागतमा दुइ वर्ष अगाडि निर्माण सम्पन्न भएको थियो ।
हाल भ्यूटावरको संरक्षण नहुँदा विभिन्न संरचनामा क्षति पुगेको छ । भ्यूटारको संरक्षण नहुँदा कुरुप देखिदै गएको स्थानिय मुना विकले बताउनुभयो । बस्ती भन्दा माथी रहेको भ्यूटावर संरक्षणको अभावमा विस्तारै कुरुप हुँदै गएको उहाँ बताउनुहुन्छ । “बस्ति भन्दा माथी छ । दिनदिनै केटाहरु हुन्छन् । कोहिले ढुंगाले हानेर पनि भवनको सिसा फुटाइ रहेका हुन्छन् । भ्यूटावर भित्र जानको लागि सिसा फुटाएको जस्तो देखिन्छ ” उहाँले भन्नुभयो । भ्यूटावरको पहिलो साथै अन्तिम तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामाग्रीहरु समेत तेडफोड गरिएको छ । भ्यूटावर संरक्षणमा सरोकारवालाहरुले चासो नदिदा झण्डै साढे दुइ करोड खर्चेर बनाइएको संरचना विस्तारै विग्रदै जाने देखिएको स्थानियले गुनासो गरेका छन् ।
भ्यूटावरमा प्रयोग गरिएको विद्युतका केही सामाग्री चोरी भएको, विद्युतका तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको स्थानिय संखर कार्किले बताउनुभयो । “झ्यालको सिसा सबै फुटेको छ । भ्यूटावर भित्र पनि धेरै फोहोर देख्न सकिन्छ । विद्युतीय सामान तार पनि चोरि भएको छ । शौचालय दुर्गधीत छ ।” उहाँले भन्नुभयो ।
दुर्व्यसनको अखडा
निर्माणपछि एक पटकपनि प्रयोगमै नआइ जीर्ण बनेको भ्यूटावर दुर्व्यसनको अखडा बनेको छ । गोप्य ठाउँमा खुला क्षेत्र भएका कारण लागूऔषध प्रयोगकर्ताको लागि दुव्र्यसनको अखडा बनेको स्थानिय सान्ति विकले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “भ्यूटावर माथि पुगेपछि खुल्ला छ । विभिन्न ठाउँबाट दैनिक एक दर्जन बढी युवायुवती भ्यूटावरमा देखिन्छ । भ्यूटावर भित्र बसेर गाजाँ लगाएत लागुऔषध खानेको गर्छन् । बजारदेखि लागुऔषध खान कै लागि पनि भ्यूटावर आउँछन् केटाहरु ।”
उहाँले अखडासँगै यौन क्रियाकलापसमेत भएकोे गुनासो गर्नुभयो । “भ्यूटावरको भवनभित्र लागूऔषध प्रयोग र यौन क्रियाकलापसमेत गरेको पाइएको छ । यस्तो हुँदा यहाँका स्थानीय त्रसित भएका छन्, यसको विकल्प खोज्नु पर्यो,संचालनमा ल्याउन नस्कने भए किन करोडौ खर्च गरेको भ्यूटावर निर्माण गरे ? हामी स्थानिय मिलेर भ्यूटावर नै भत्काउने निर्णय गरेका छौँ ।” उहाँले भन्नुभयो । दैनिक युवायुवती भ्यूटावरमा देखिने गरेको उहाँले बताउनुभयो ।