बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

ऐनविपरीत उपप्रमुखलाई पाखा लगाउँदै वडाध्यक्षलाई कार्यवाहक

शुक्रवार , श्रावण ११, २०८१

सिन्धुली – कानून अनुसार अध्यक्षकोे अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक तोकिन्छ तर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उपाध्यक्षलाई  कानूनको बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक दिनुभएको छ ।

बागमती प्रदेश सरकार द्वारा प्रस्तावित हरिहरपुरगढी गाउँपालिकामा स्थापना हुने तयारीमा रहेको रसायनिक मल कारखानाको लागी लगानीकर्ता कम्पनी संगको औपचारिक छलफलमा थाइल्याण्ड भ्रमणमा जाँदा अध्यक्षले वडा नंं ४ का वडा अध्यक्ष कमल कुमार राईलाई कार्यवाहकको जिम्मेवारी दिनु भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै अध्यक्ष वाईबले वडाअध्यक्ष राईलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै उपाध्यक्ष उपाध्यक्ष चेखबहादुर थिङसमेत चकित बन्नु भएको छ । “ऐनको परिच्छेद ३ को दफा १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेछ छ,” उपाध्यक्ष थिङले भन्नुभयो “म हुँदाहुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्ष ज्यूलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु ।”

यसमा उपाध्यक्ष थिङले असन्तुष्टि जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष थिङले भन्नुभयो, “म गाउँपालिकामा सधै उपस्थित रहेर कार्य सम्पादन गरि रहेको छु । तर,गाउँपालिका अध्यक्ष ज्यूले वडा अध्यक्षलाई कार्यवाहक दिएर विदेश जानुभएको कुरा त मैले सामाजिक संजालबाट थाहा पाएँ । मलाई राजनैतिक पुर्वाग्राही भएर कार्यवाहक नदिनु भएको होला ।”

अहिले गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा मात्र होइन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकरा लगायत कर्मचारीहरू थाइल्याण्ड भ्रमणमा छन् ।

यसरी गाउँपालिका उपाध्यक्ष र उपमेयर हुँदाहुदै वडाअध्यक्षलाई कार्यवाहक बनाएको झापाको कमल गाउँपालिका , झापाकै शिवसताक्षी नगरपालिका,पश्चिम नवलपरासीको पाल्हिनन्द गाउँपालिका लगाएतमा उच्च अदालले खारेज गरेका नजिरहरू रहेका छन् ।

यस्तै गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि २०८० भदौ ३ गते ७५३ वटै स्थानीय तहमा संयुक्त सर्कुलर जारी गर्दै सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भए उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन निर्देशन समेत दिएको थियो ।

 

प्रतिक्रिया