बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा १० हजारले लिए नयाँ नागरिकता

बिहिवार , श्रावण १०, २०८१

सिन्धुली – सिन्धुलीमा एक वर्षको अवधिमा १० हजारले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४० जनाले नयाँ नागरिकता लिएका हुन् ।

वंशजको आधारमा ५ हजार २ सय ११ जना महिला र ४ हजार ८ सय २९ जना पुरुषले नयाँ नागरिकता लिएका हुन् । जेष्ठ महिना सम्म ४ हजार ८ सय ५० जना महिला र ४ हजार ५ सय ५३ जना पुरुषले नयाँ नागरिकता लिएका थिए । वैवाहिक अंगिकृतको आधारमा ५ जनालाई नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । गैरआवसिय नागरिकता ५ जना महिला र १२ जना पुरुषको जारी भएको छ । ९ हजार ४ सय ५२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार ८ सय ९६ जनाले नयाँ नागरिकता लिएका छन् । वंशजको आधारमा ६ हजार २ सय ३८ जना महिला र ५ हजार ६ सय ५८ जना पुरुषले नयाँ नागरिकता लिएका हुन् । बैबाहिक अंगिकृत दुइ जनाले नागरिकता लिएका छन् ।

यस्तै, ७ हजार दुइ सय २९ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । जेष्ठ सम्म ६ हजार ६ सय ९३ जनाले प्रतिलिपि नागरिकता लिएका थिए भने असार महिनामा मात्रै ५ सय ३६ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।

पछिल्लो समय माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्ने बित्तिकै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भएकाले नागरिकता बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सरकारी निकायबाट सेवासुविधा प्राप्त गर्न र प्राविधिक शिक्षा अध्ययनका लागि नागरिकता अनिवार्य भएकाले पनि नागरिकता लिनेको संख्या बढेको हो । अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधा प्राप्त गर्न नागरिकता आवश्यक पर्ने भएकाले लिनेको संख्या बढेको प्रमुख जिल्ला भरत खनालले बताउनुभयो ।

नागरिकता लिनेमा पुरुष भन्दा महिलाको संख्या बढी छ । पछिल्लो समय स्थानीय सरकारहरूले सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकको नागरिकतालसहितको विवरण मागेपछि धेरै ज्येष्ठ नागरिकले नागरिकता बनाउने गरेका छन् ।

प्रतिक्रिया