बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा कलिलो उमेरमै बन्दै छन् आमा

बुधवार , श्रावण ९, २०८१

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ३ की मनिषा देवकोटाको एउटा छोरा छ । १६ वर्षको उमेरमै विवाह गर्नुभएको देवकोटाको अहिले १८ वर्ष हुनुभयो । उहाँको एक वर्षको छोरा छ । अहिले उहाँको दुइ महिनाको गर्व रहेको बताउनुहुन्छ । “फेरि सन्तान जमाउने तयारी छ । दुइ महिना भयो, नियमित स्वास्थ्य परिक्षण गरिरहेको छु ,” उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका – ४ कि ४० वर्षीया नानुमायाँ कार्की स्वास्थ्यमा समस्या आएर पीडित हुनुहुन्छ । अहिले उहाँलाई पाठेघरको संक्रमणले ग्रसित हुनुहुन्छ । उहाँले भन्नुभयो, “सानै १३ वर्षको उमेरमा विवाह गरियो । अनि प्रजनन् अङ्ग परिपक्क नहुदै बच्चा जन्मिए । बेलामा पोषणयूक्त खाना खान पनि पाइएन । अहिले पाठेघर संक्रमण रोगले सताइरहेको छ । पाठेघर समस्याबाट पीडित थिएँ ”, उहाँले भन्नुभयो, “स्वास्थ्य भन्दा काममा ध्यान दिएर, बेलैमा आफ्ना समस्या अरुलाई भन्न पनि सकिएन । अहिले समस्यामा परेका छौँ ।”

शिक्षित जिल्लाका रूपमा चिनिने सिन्धुलीमा उमेर नपुग्दै सन्तान जन्माउनेको संख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी ग्रामिण क्षेत्रमा बसोबास गर्ने समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।

जिल्ला अस्पताल सिन्धुलीमा मात्रै एक अर्षको अवधिमा ५६ जनाले कम उमेरमा बच्चा जन्माएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा ५६ जना कम उमेरकाले प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । जिल्लामा संचालित बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति हुन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा ७७ जनाले कम उमेरमा बच्चा जन्माएका छन् । नेपालको कानुनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने रोकिएको छैन । ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम नरोकिएको महिलाअधिकारकर्मीहरु बताउँछन् ।

समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने शिक्षक विष्णु मायाँ घिमिलेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विशेषगरी जिल्लाको ग्रामिण क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।” विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँले बताउनुभयो । जनचेतनाको पाटोलाई बलियो बनाउन सकेमात्र यस्ता कुरा नियन्त्रण हुने उहाँ बताउनुहुन्छ । “तथ्यांक हेर्दा उमेरै नपुगी बच्चा जन्माउनेको संख्या धेरै देखिन्छ तर यसमा गरिब र अशिक्षाको पाटो धेरै छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया