बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा झण्डै दुई लाखको अवैद्य सामान बरामद

बुधवार , श्रावण ९, २०८१

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार दिउँसो झण्डै दुई लाख रुपैँया बराबरको अवैद्य सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरी टोलीले भिमान चेकपोष्टमा सवारी साधनको चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याएको झण्डै दुई लाख बराबरको सामान बरामद गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीमाढी तर्फ आउदैँ गरेको बा १६ च ५६७० नम्बरको तरकारी लोड भएको पिकअप गाडिमा लुकाई छिपाई भन्सार चोरी पैठारी गरी ल्याएको चिनी र प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “झण्डै ४८ हजार बराबरको छ सय केजि चिनी र २४ हजार रुपैँया बराबरको ३३५ केजि प्याज बरामद गरिएको छ ।”

त्यस्तै, विभिन्न सार्वजनिक सवारीसाधन चेकजाँच गर्दा ८० हजार रुपैँया बराबरको २० पेटी रेड बुल बारमद गरि सवारीसाधन सहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय, घनुषा पठाइएको डिएपि खड्काले बताउनुभयो ।

प्रतिक्रिया