सिन्धुली – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसमा सिन्धुलीमा वृक्षरोपण गरिएको छ । नेकपा (एमाले) कमलामाई नगर कमिटीले सोमरबार कमलामाई नगरपालिका ५ स्थित कमलामाई मन्दिर परिसरमा वृक्षरोपण गरेको हो ।
जिल्लाको प्रसिद्ध कमलामाई मन्दिर परिसरमा चाँप, पारिजात, सिन्कौली, निम, अमला, बेल, चन्दन, आँप, अम्बा, लिची र विभिन्न फूलसहित २ सय २५ वटा बिरुवा रोपिएको नेकपा एमाले जिल्ला उप–सचिव दिपेश बरालले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य कमलजंग राईले पुष्पलाल वर्ग संघर्षप्रति विश्वास गर्ने व्यक्तित्व भएको चर्चा गर्दै पछिल्लो समयका कम्युनिष्टहरुमा नैतिकता र वर्ग प्रति भुल्दै गएको बताउनुभयो । कमलामाई नगर कमिटी अध्यक्ष सुन्दर घिसिङको अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा सम्पन्न भएको हो ।