सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्ष चड्ने सवारीसाधन मर्मतको खर्च अस्वाभाविक नभएको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले बताउनुभएको छ । उहाँले गाउँकार्यपालिकाको निर्णय अनुसार अध्यक्षको स्कार्पियो गाडी मर्मत गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दर्जिले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “चार वर्ष अगाडि नै खरिद गरेको स्कारपियोको इन्जिनमा समस्या देखिएको थियो । अनुगमन तथा कार्यक्रममा जाने क्रममा स्कारपियो पानीमा डुबेको रहेछ । त्यो समय उक्त गाडीको सामान्य मर्मत गरिएको रहेछ । अहिले धेरै समस्या आउन थालेपछि हामीले कार्यपालिकाको बैठकमा छलफल गरेर स्कारपियो मर्मत गरेका हौँ ।” कम्पनीको स्वरुममै लगेर गाउँपालिकाको गाडी बनाउने गरेको उहाँले बताउनुभयो । कम्पनीमा अगाडिको बर्ष देखिको स्कारपियो मर्मतको खर्च तिर्न बाँकीँ पैसा यस वर्ष दिएको उहाँ बताउनुुहुन्छ । ‘यस वर्षमा मात्रै स्कारपियो बनाएको खर्च होइन, अगाडिको वर्ष मर्मत गरेको बाकिँ रहेको पैसा पनि तिरेका थियौँ । कार्यपालिकाको निर्णय अनुसार हामीले भुक्तानी दिएका हौँ’, उहाँले भन्नुभयो । नयाँ स्कार्पियो खरिद गर्दा गाउँपालिकालाई थप जिम्मेवार बढ्ने भएकाले मर्मत गरिएको अधिकृत दर्जीले बताउनुभयो ।
बेरुजु कार्य
गाउँपालिकाले सवारी मर्मतमा २२ लाख ४३ हजार २ सय ६८ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । मरिण गाउँपालिकाले गाउँपालिका अध्यक्ष चढ्ने स्कार्पियो तत्कालिन अध्यक्ष पानीराज बोम्जनको नेतृत्व रहदा २०७६ सालमा ४९ लाखमा खरिद गरेको थियो । ज १ झ ४२२ नम्बरको स्कार्पियो एक वर्षमा १६ लाख २८ हजार ४ सय ९६ रुपैयाँ मर्मत खर्च गरेको महालेखाको प्रतिवेदनमा छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सवारी साधन मर्मतमा पालिकाले २६ लाख ६० हजार ३सय ६१ रुपैयाँ खर्च गरेको थियो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकाले यति धेरै रकम मर्मतको नाममा खर्च गरेको भएपनि मर्मत आदेश, मर्मत दाखिला र सोको व्यवस्थित खर्चको मर्मत अभिलेख खातामा नराखेको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, “अभिलेख नराखेकाले एउटै सामान बारम्बार मर्मत हुनाले एउटै साधनको एकै प्रकारको समान फेरिएको हुन सक्ने सम्भावना रहन्छ ।” नियमानुसार मर्मत अभिलेख राख्ने र मर्मत अभिलेखको आधारमा खर्च गरी सम्पत्तिको संरक्षण तथा खर्चमा नियन्त्रण गर्न महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ । मर्मतको नाममा गरिएको खर्च पनि शैद्धान्तिक बेरुजु कायम गरिएको छ ।