सिन्धुली– सिन्धुलीमा पछिल्ला बर्षहरुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको संख्या बढ्दै गएको हो ।
अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला अदालत सिन्धुलीमा दर्ता भएको मुद्धाको तथ्यांक हेर्दा पछिल्लो चार वर्षमा १ हजार ५७ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएका छन । सम्बन्ध बिच्छेदका मुद्धा दर्ताको संख्या बर्षेनी बढ्दै गईरहेको छ । जिल्ला अदातलमा आर्थिक वर्ष ०७७/७८ मा १४१, आर्थिक वर्ष ०७८/७९ मा २ सय ४१ र आर्थिक वर्ष २०७९/८० मा ३३४ वटा र आर्थिक वर्ष २०८०⁄०८१ मा ३४१ सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको जिल्ला अदालत सिन्धुलीका श्रेष्तादार बिदुर कोइरालाले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा मात्र सिन्धुली जिल्ला अदालतले अघिल्लो आर्थिक वर्षको सहित कुल ३ सय ५० सम्बन्ध विच्छेदका मुद्धा फैसला गरेको श्रेस्तादार बिदुर कोइरालाले जानकारी दिनुभयो । पछिल्लो चार बर्षका १ हजार ५७ मुद्धा मध्ये १ सय १३ वटा फैसला बाँकी रहेको छन भने ९ सय ४४ वटा मुद्धा फैसला भइसकेका छन ।
सिन्धुली जिल्ला अदालतमा आर्थिक बर्ष २०८०⁄८१ मा दर्ता भएका कुल ८०३ मुद्धा मध्ये झण्डै आधा अर्थात ३ सय ४१ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेका छन । सम्बन्ध विच्छेदका मुद्धाको अवस्था निक्कै भयावह रहेको श्रेस्तादार कोइरालाले बताउनुभयो ।
अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन् । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ । महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन् । अधिकांसको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको हो ।
अधिकांस प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ । “केटाले बाँड्ने ठूल्ठूला सपना पूरा नहुँदा समस्या बढी रहेको छ,” अधिबक्ता नारायण बरालले भन्नुभयो, “युवा अवस्थामा केटाकेटि यर्थात भन्दा भावनामा बग्छन् ।” जुन कुरापछि पूरा नहुँदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । “लहलहैमा विवाह गर्ने संख्या बढ्दो छ,” अधिवक्ता बरालले भन्नुभयो, “कलिलोमा विवाह ग¥यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ । त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन ।”
मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिवी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या हुने गरेको छ अदालतले सकेसम्म पतीपत्नीबीच मेलमिलापको पहल गर्छ अदालतका श्रेष्तेदार बिदुर कोइरालाले भन्नुभयो त्यहाबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन् ।
“श्रीमान रोजगारीका लागि विदेसिन्छन्,” श्रेस्तादार कोइरालाले भन्नुभयो, “उनीहरुले पठाएको रेमिटान्स जथाभावी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको छ । आधुनिक फेसनशैली र रहनसहनको विकृति पनि हो, श्रीमान श्रीमतीको सम्बन्ध विग्रँदा अदालतको ढोका घच्घचाउने बढ्दो छन् ।”
एक बर्षमा १ हजार बढी मुद्धा फर्छौट
सिन्धुली जिल्ला अदालतले आर्थिक वर्ष २०८०⁄०८१ मा कुल १ हजार ६८ मुद्धा फैसला गरेको छ । सिन्धुली जिल्ला अदालतले बुधबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आफ्नो बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याकं अनुसार अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेको ९ सय २४ र नयाँ लगत ८ सय ३ सहित कुल १ हजार ७ सय २७ मुद्धाहरु रहेको र उक्त मुद्धाहरु मध्ये १ हजार ६८ फैसला भएको र ६ सय ५९ बाँकी रहेको जनाएको छ ।
अदालतले बार्षिक फर्छौट लक्ष्यमा ७२.८० प्रतिशत लक्ष्य हासील गरेको जनाएको छ । दुनीयावादी देवानी ६०७ वटा, दुनीयावादी फौजदारी १२३ वटा, सरकारवादी फौजदारी ३२१ वटा पुनरावेदन ८ वटा, रिट ९ वटा गत आर्थिक वर्षमा फैसला भएका मुद्धाहरु रहेका छन ।
सिन्धुली जिल्ला अदालतले कुल १४ करोड ७९ हजार १ सय ८७ रुपैया बराबर जरिवाना फैसला गरेको जनाएको छ भने १ हजार ७२ बर्ष ९ महिना २८ दिन कैद फैसला गरेको जनाएको छ । अन्तरक्रिया कार्यक्रममा श्रेस्तादार विदुर कोइरालाले सिन्धुली जिल्लामा सम्बन्ध विच्छेद, लागुऔषध तथा जग्गा किचलो सम्बन्धी मुद्धाको संख्या बढि रहेको बताउनुभयो ।