बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

यातायात कार्यालय खुर्कोटमा सेटिङ धन्दा मौलाउँदै

बिहिवार , श्रावण ३, २०८१

सिन्धुली – यातायात कार्यालय खुर्कोटमा सेटिङको धन्दा मौलाउँदै गएको खुलासा भएको छ । सवारी लाइसेन्स बितरणमा सेटिङमा ट्रायल उर्तिण हुने गरेको नाम नखुलाउने सर्तमा खुर्कोट ट्रायल सेन्टरका एक कर्मचारीले बताए । उनले भने, “सवारी लाईसेन्सको परिक्षामा नक्किली परीक्षार्थी हुन्छन् । एउटाको परीक्षा अर्कोले दिरहेका हुन्छ । सेटिङमा लाइसेन्स परिक्षा उर्तिणा हुन्छन् ।”

कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ देखि २० हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ५० हजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको उनले बताए । “मलाई पनि धेरै गुनासो आयो, पैसा लिने अनि परिक्षामा नक्कली परिक्षार्थी बसेर पास गर्ने । यस विषयमा आवाज पनि मैले उठाएको थिए तर कसैले सुनेन् । पैसा तिरेपछि सवारी लाइसेन्स निस्कने रैछ ,” उनले सुनाए ।

यातायात कार्यालयको कर्मचारी सहितको सेटिङमा नक्कली परिक्षार्थी बसेर सवारी लाईसेन्सको परिक्षा उतिर्णा हुने गरेको स्थानिय एक युवकले बताउँछन् । उनले भने, “गाडि नै चलाउन नआउने व्यक्तिले ट्रायल पास गरेको कागज देखाउने गरेको उहाँले बताउनुभयो । मैले चिनेजानेको एक व्यक्ति थिए, उस्लाई गाडी नै चलाउन आउँदैन । तर उहाँले केहि दिन अगाडि लिखित र प्रयोगात्मक दुवै परिक्षा उर्तिण भई पास भएको कागज ल्याएको थियो । मैले पछि बुझ्दा उनले परिक्षा नै दिएको रैनरछ । उनको साटो अरु कसैले परिक्षा दिएर उर्तिणा भएको रहेछ ।”

सोहि ठाउँका एक स्थानियले पनि सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परिक्षार्थीको विगविगी रहेको बताए । उनले सेटिङमा सवारी लाइसेन्स निक्लने गरेको बताए । उनले भने, “सबै सेटिङमा चल्छ । यहाँका कर्मचारीलाई घुस दिएपछि सजिलै लाइसेन्स निस्कन्छ । कर्मचारी मिलेर पैसा लिनेगरेको सुनेको छु । यसमा ट्राफिकले पनि साथ दिएको छ ।”

अर्को कार्यालयको सवारीबाट ट्रायल गराउँदै

सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा बर्दिबास ड्राइभिङ सेन्टरको गाडिले ट्रायल भइरहेको छ । गत असार २७ गते विहिबारलाइसेन्सको परिक्षा बर्दिबास ड्राइभिङ सेन्टरको गाडि प्रयोग भएको थियो ।

बागमती प्रदेश सरकारद्धारा प्रकाशित प्रदेश राजपत्रको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थल ‐छनोट तथा संचालन) कार्यविधि २०७८ मा “यस प्रदेशभित्र कुनै एक कार्यालयको परिक्षा संचालनको स्वीकृति पाइसकेका सेवा प्रदायकले अर्को कार्यालयको परिक्षा संचालनका लािग सोहि स्थान र सोहि सवारी साधन प्रयोग हुने गरि प्रस्ताव पेश गर्न पाउने छैन” भनिएको छ ।

यातयात कार्यालय खुर्कोटका निमित्त प्रमुख के भन्नुहुन्छ ?

यातयात कार्यालय खुर्कोटका निमित्त प्रमुख बुद्धिराम शर्माले कम्पनीसँग सम्झौता अनुसार अर्को कार्यालयको गाडि ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले सम्झौता गरेर ल्याएको गाडि हो । यस विषयमा हामीलाई थाहा छैन ।” नक्कली परिक्षार्थीले परिक्षा दिएको विषयमा प्रश्न गर्दा उहाँले कुनै उत्तर दिनुभएन । यस विषयमा आफु नबोल्ने भन्दै पन्छिनुभयो ।

प्रतिक्रिया