सिन्धुली – सिन्धुलीमाढीमा चुरा, पोते, मेहन्दीसहित साउनमा प्रयोग हुने अन्य श्रृंगारका सामग्रीको व्यापार बढेको छ । साउनमा महिलाले यि वस्तु अत्यधिक प्रयोग गर्छन् । व्रतालु महिलाले त झनै बढी प्रयोग गर्छन् । अब एक महिनासम्म बजारमा हरिया, पहेँलाचुरा, पोते, वस्त्रसहित अन्य श्रृंगारका सामग्री किनबेच राम्रो हुन्छ ।
सिन्धुलीमाढी लगाएत जिल्लाको ग्रामिण क्षेत्रका बजारमा समेत श्रंगारका सामाग्रीको व्यापार बढेको बताइएको छ । चकमके बजार, खुर्कोट बजार, मरिणको छाप सहित दुधौली बजारमा उपवासको महिना भनेर चिनिने साउनमा प्रयोग गरिने सरसामग्रीको राम्रो व्यापार भइरहेको । सिन्धुलीमाढीमा संचालित रोजिना कस्मेटिक पसलमा १५ दिन अगाडि देखि साउनमा लगाउने श्रृंगारको सामाग्री किन्नेको चलपहल रहेको संचालक रोजिना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आज मात्रै होइन १५ दिन अगाडि देखि पसलमा यस्तै भिड छ । साउनमा लगाउने हरियोपँहेलो चुरा साथै अन्य श्रृंगारको सामान किन्नेको आइरहेका छन् । असारको अन्तिम दिन ३१ गते सोमबार एक दिनमै ५० हजार बढीको कारोबार भयो ।” उहाँलाई अहिले हरियोपहेलो चुरा, पोते, मेहेन्दी लगाएत साउनमा लगाउने श्रंगारको सामान वित्रि गर्न भ्याइनभ्याई छ ।
अन्य महिनाभन्दा साउन महिनामा खासगरी अधिकांश हिन्दू महिलाहरुले हरियो चुरापोते र मेहन्दी किन्ने गरेको गरेको पुरानो खुर्कोटकी कस्मेटिक व्यापारी सोनि कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “साउन महिनामा विशेषगरि महिलाहरुले हरिया पहेलो कस्मेटीक समानहरु खरिद गर्नु हुन्छ । अन्य महिनाभन्दा साउनेमा हाम्रोमा चुरा, मेहन्दी र श्रृगांर समान बढी बिक्रि हुने गर्दछ । अहिले दैनिक हुने व्यापार पनि बढेको छ ।” उहाँका अनुसार कतिपयले चुरा र मेहन्दीको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेको कतिपय महिलाहरुको भनाई छ ।
आर्थिक हिसाबले पनि साउनको बिशेष महत्व छ । साउनकै लागि भनेर व्यापारीहरुले नयाँ सामान झिकाएका पनि छन् । विशेषगरी रंगीबिरंगी चुरा, पोते तथा श्रृंगारका अन्य सामानको बिक्री साउनमा उल्लेख्य हुन्छ । महिलाहरु सामान किनमेलसँगै मेहन्दी लगाउन पनि उत्तिकै व्यस्त देखिन्छन् ।
बोलबमका यात्री देखिन थाले
साउन सुरु भएसँगै विपि, मदभण्डारी र मध्यहाडी राजमार्गमा बोलबमका यात्री देखिन थाल्छन् । साउनमा विभिन्न महादेव मन्दिरमा दर्शन गर्न पुग्ने गरिन्छ । विशेष गरी भारतीय बोलबम तिर्थयात्री जिल्लाको शिवालय मन्द्रिमा दर्शन गर्न आउने गरेका छन् । उनीहरुको अब राजमार्गमा बाक्लो चहलपहल सुरु हुन्छ । साउनमा हरियो, पहेँलो वस्त्र लगाएर बोलबमका यात्री मोटरसाइकलसहित अन्य सवारीमा आउजाउ गर्छन् । साउनभर राजमार्गमा बोलबम तिर्थयात्री र उनीहरु सवार मोटरसाइकलको चाप बढ्ने भएकाले प्रहरीले सतर्कता बढाएको छ ।
बोलबमयात्रीले मोटरसाइकलमा तीन जना भन्दा बढी चढेर तीव्र गतिमा दौडाउने, भन्सार नबुझाइ भारतीय सवारी ल्याउने, ट्याक्टर तथा अन्य सवारीमा जथाभावी यात्रु चढाउनेजस्ता कारणले वर्षेनि दुर्घटना हुने गरेको छ । त्यसलाई रोक्न चेकजाँच बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साउन अवधिभर विशेष गरी कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउनेको भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।