बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा मानवअधिकार उल्लंघनका ६७ घटना

मंगलवार , श्रावण १, २०८१

सिन्धुली – सिन्धुलीमा ६ महिनाको अवधिमा ६७ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले सिन्धुलीमा आयोजना गरेको अर्धवार्षिक समिक्षा गोष्ठीमा सिन्धुलीमा ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लंघनका घटनामा ६७ जना पीडित भएको जनाएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०८० पुष १६ गते देखि २०८१ असार १६ गते सम्म भएको मानव अधिकार उलंघनका घटनाको विवरण सोमवार सार्वजनिक गरेको होे ।

इन्सेक सिन्धुलीले सार्वजनिक गरेको प्रतिवेदनमा पुरुषभन्दा महिला बढी पीडित भएको खुलेको छ । राज्य पक्षबाट एक वटा र अन्यबाट ६५ वटा घटना भएको इन्सेक प्रतिनिधि नविनबाबु अधिकारीले जानकारी दिनुभयो ।

तथ्यांक अनुसार जिल्लामा पुष १६ देखि असार १६ सम्ममा बाल अधिकार सम्बन्धी १० वटा घटना भएका छन् भने महिलासँग सम्बन्धित ५७ वटा घटना भएका छन् । जसमा १० जना बालिका र ५७ जना महिला पीडित भएका छन् । जसमा बालिका बलात्कारका ६ वटा, यौन दुब्र्यवहार १ र बलात्कार प्रयासका २ वटा घटना र बेचबिखन १ घटना भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकारतर्फ घरेलु हिंसा ४९, हत्या १, बलात्कार प्रयास ३, बेचबिखन १ र बहुविवाहका ३ वटा घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको ६ महिनामा जिल्लामा ४९ वटा घटना भएका थिए । राज्य पक्षबाट १ वटा घटना भएको र अन्य सबै घटना गैह्र राज्य पक्षबाट भएको समेत इन्सेकले जनाएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले मानवअधिकारसँग सम्बन्धित घटना कम हुनु र राज्य पक्षबाट हुने घटना कम हुनु राज्यका लागि गौरवको कुरा भएको बताउनुभयो । उहाँले मानवअधिकार उल्लंघन र हननका घटना कम गर्न सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य कडाईको साथ गर्दै आएको बताउनुभयो ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लंघनका घटनाको अध्ययन,अनुगमन,अभिलेख, तथा पैरवि गर्ने काम गर्दै आएको छ । तथ्य,तथ्यांक,विश्लेषण र अवस्था अनुगमनको आधारमा इन्सकेले प्रतिवेदन तयार गर्दछ ।

प्रतिक्रिया