सिन्धुली – सिन्धुलीमा सरकारी बजेट असारमा मात्रै झण्डै आधा खर्च भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा खर्च भएको मध्ये आधा पुँजीगत बजेट असार महिनामा भएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार सिन्धुलीस्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत शीर्षकमा विनियोजन भएको ३२ प्रतिशत बजेट खर्च गरेका छन् ।
९ अर्ब २७ करोड ७ लाख २३ हजार ८३७ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा ८ अर्ब ५७ करोड ९३ लाख १३ हजार ९९६ रुपैयाँ खर्च गरेका कार्यालयका कोष नियन्त्रक टंक नाथ काफ्ले जानकारी दिनुभयो । पुँजीगत शीर्षकमा खर्च गरेको मध्ये ३२.७१ प्रतिशत अथवा १ अर्ब १६ करोड ५७ लाख ५३ हजार १९२ रुपैयाँ आर्थिक वर्षको अन्तिम महिना असारको हो । सरकारले असार २४ गते सरकारी खाताबाट भुक्तानी रोकेको थियो ।
पँुजिगत शीर्षकको बजेटको ठुलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृति सुधार नहुनु बजेट परिचालनको प्रमुख चुनौति रहेको छ । असारमा हुने खर्चलाई आर्थिक अनुशासनका हिसाबले प्रतिकूल मानिन्छ । प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देव नारायण यादवले माथिल्लो निकायबाट बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चितता, अख्तियारी आउन ढिलाई हुनु, उपभोक्ता समिति र निर्माण व्यवसायीले अन्तिम समयमा भुक्तानी माग्ने गरेकाले आर्थिक वर्षको अन्तिम महिनामा धेरै बजेट खर्च हुने गरेको बताउनुभयो । “न्यून जनशक्तिले धेरै टुक्रे योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको छ,” उहाँले भन्नुभयो
खर्चमा संघभन्दा प्रदेशका कार्यालय अगाडी
संघीय सरकारको पुँजीगत तर्फ ६ अर्ब ९९ करोड ५८ लाख २० हजार ६१७ रुपैया विनियोजना भएको थियो । सो मध्ये ६ अर्ब ७३ करोड १४ लाख ३९ हजार ९३८ रुपैयाँ खर्च भएको छ । प्रदेशका सरकारको पुँजीगत तर्फ रु. २ अर्ब २७ करोड ४९ लाख ३ हजार २२० रुपैयाँ विनियोजन भएको थियो । सो मध्ये १ अर्ब ८४ करोड ७८ लाख ७४ हजार ५८ रुपैया खर्च भएको छ । सबै भन्दा बढी पुँजीगत बजेट भएको सडक डिभिजन कार्यालय सिन्धुलीको खर्च असार महिनामा मात्रै २२ करोड ६४ लाख ६३ हजार ९५ रुपैयाँ रहेको छ । कार्यालयको कुल एक अर्ब ३९ करोड ७१ लाख बजेट रहेको थियो । कुल एक अर्ब १३ करोड १ लाख ३१ हजार ३१९ रुपैया खर्च भएको छ ।
सहरी विकास तथा भवन कार्यालय सिन्धुलीको कुल ३३ करोड १६ लाख ९४ हजार २२० रुपैया बजेट विनियोजन भएको थियो । असार महिनामा मात्रै १२ करोड ८३ लाख ९८ हजार ८३४ रुपैया खर्च भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीको कुल २९ करोड २५ लाख ५ हजार रुपैया बजेट रहेको थियो । सो मध्ये असारमा मात्रै १२ करोड ५८ लाख ७५ हजार ११७ खर्च भएको छ । कुल २६ करोड ७ लाख ७२ हजार ११४ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ ।