सिन्धुली ३१, असार – सिन्धुलीको गोलन्जोर गाउँपालिका २ को कुखुरेटारमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । आइतबार राती खसेको सुख्खा पहिरोको कारण खुर्कोट–घुर्मी खण्ड अबरुद्ध भएको हो ।
पहिरको कारण सडक अबरुद्ध हुँदा यातायातका साधनहरु विचबाटोमै रोकिएको गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो । पहिरो कारण झण्डै ५० मिटर सडक पुरीएको छ । पहिरो पन्छाउने प्रयास भएपनि जेसीवी तथा स्काभेटर नहुँदा समस्या भएको छ ।
लगातारको वर्षातका कारण यसअघिदेखी मध्यपहाडी लोकमार्ग दैनिकजसो अबरुद्ध हुँदै आएको छ । बाढी र पहिरोका कारण गोलन्जोर १ को कुँडुलेमा, वडा नम्बर ६ को अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ को सुम्नामबेसीम जस्ता स्थानमा दैनिकजसो पहिरो खस्ने गरेको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । अबरुद्ध राजमार्ग खुलाउन स्थानीय र प्रहरी लागीपरेको प्रहरीले जनाएको छ ।