बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिण गर्दुवा–कात्तिके – खलंगा सडकमा पक्की ढलान

आइतवार , आषाढ ३१, २०८१

सिन्धुली, – सिन्धुलीको मरिण हुँदै काभ्रेको महाभारत गाउँपालिकासम्म जोडिने गर्दुवा–कात्तिके –खलंगा सडकमा पक्की ढलान तथा स्तरोन्नती गरिएको छ । मरिण गाउँपालिका १ को वडा कार्यालय जोड्दै काभ्रेको अति दुर्गम मानिने महाभारत गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नती गर्दै पक्की ढलान गरिएको हो ।

मरिण गाउँपालिका २ स्थित मदन भण्डारी राजमार्गबाट वडा नम्बर १ हुँदै काभ्रेको महाभारत गाउँपालिकासम्म पुग्ने सडकको पक्की ढलान, सडकको स्तरोन्नती, नाला र रिटेनिङ्ग वाल निर्माण लगायतको काम गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।

बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५ सय ३५ रुपैयाँ लागतमा ८ सय ४५ मिटर पक्की सडक निर्माण गरिएको हो ।

‘मरिण गाउँपालिका २ स्थित ठुलो गर्दुवाबाट कात्तिके हुदै वडा नम्बर १ को खलंगासम्म पुग्ने ग्रामिण सडकको ८ सय ४५ मिटर पक्की ढलान, सडकको स्तरोन्नती, नाला र रिटेनिङ्ग वाल निर्माण लगायतको काम गरिएको छ,’ अध्यक्ष मोक्तानले भने ।

यो सडक हेटौंडा सिन्धुली चतरा स्थित मदन भण्डारी राजमार्गसंग जोडिएको सडक हो । सडकको चौडा ६ मिटर कायम गरिएको छ । वर्षातको समयमा एम्बुलेन्स समेत संचालन हुँन नसक्ने उक्त सडक पक्की निर्माण गरिएपछि अब १२ महिनानै यातायात संचालन हुने अपेच्छा राखिएको छ ।

यो सडक मरिण गाउँपालिकाको वाड नम्बर १ र दुईको विभिन्न बस्तिहरु राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्र सडक हो । यसको स्तरउन्नती तथा विस्तार गर्दै खलङ्गा–कात्तिके हुदै काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका सम्म जोड्ने लक्ष्य रहेको अध्यक्ष मोक्तानले बताउनुभयो ।

यस सडकको निर्माण कार्य सिन्धुलीको निर्माण व्यवसायी श्री लक्की वान विल्डर्स एण्ड सप्लायर्स , कमलामाई नगरपालिका ५ ले लिएको थियो । उक्त सडकको संझौता अनुसार निर्माण कम्पनीले दुई महिना अघिनै निर्माण कार्य सम्पन्न गरेको मरिण गाउँपालिकाका इन्जिनियर विनित ओझाले बताउनसभयो ।

उक्त सडक खण्ड अन्तरगत गत आर्थिक वर्षमा गरिएको २ सय ५५ मिटर ढलान सहित यस बर्षको ८ सय ४५ मिटर गरी कुल एक दशमलव एक किलो मिटर सडक पक्की ढलान सम्पन्न भएको हो । “यस सडकलाई आगामी वर्षमा समेत प्राथमिकता राखेर सम्पन्न गर्ने योजना बनाएको छु,” अध्यक्ष मोक्तानले भन्नुभयो ।

गाउँपालिका र मदन भण्डारीबाट वडा कार्यालयसम्म आउने मुख्य सडकनै पक्की नहुँदा वर्षेनी समस्या हुने गरेकोमा यस वर्षबाट भने स्थानीय नागरीकले समस्या भोग्न नपर्नेगरी पक्की सडक निर्माण कार्य भएको वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुर्मछानको भनाई छ । मरिण गाउँपालिका १ स्थित कात्तिके तथा खलंगा क्षेत्र पालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो । सडक निर्माणले उक्त ऐतिहासिक क्षेत्रमा आवत जवत गर्न तथा स्थानीय कृषि उत्पादनलाई राजमार्ग हुँदै बजारसम्म ढुवानी गर्न समेत सहज भएको किसानहरुको भनाई छ ।

 

प्रतिक्रिया