काठमाडौं, ३० असार - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
पेन्सिलभेनियामा पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।
घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।