सिन्धुली – सिन्धुलीमा ७२ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीको तथ्यांक अनुसार असार २८ गते सम्म जिल्लामा ७२ प्रतिशत धान रोपाइ सकिएको हो । यस वर्ष बेलैमा मनसुन सुरु भएकोले सिन्धुली जिल्लाका नौ वटै स्थानीय तह गरी ७२ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको हो ।
जिल्लाको तिनपाटन गाउँपालिकामा ९० प्रतिशत धान रोपाइ सकिएको छ । यस्तै, फिक्कल गाउँपालिकामा ७५ प्रतिशत, घ्याङलेख गाउँपालिकामा ५० प्रतिशत, गोलन्जोर गाउँपालिकामा ६० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कमलामाई नगरपालिकामा ६० प्रतिशत, मरिण गाउँपालिकामा ७५ प्रतिशत, हरिहरपुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा ६० प्रतिशत रोपाई सम्पन्न भइसकेको छ ।
सिचाई सुविधा नभएकोस्थानमा रोपाइ हुन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्र साथै पहाडी क्षेत्रका केहि भागमा तथा फाटमा छिटपुट रुपमा धान रोप्न बाँकी रहेको छ । केही दिन यता आकाशे पानी राम्रोसँग परेको हुँदा धान रोप्न बाँकी रहेका ठाउँहरुमा पनि छिट्टै रोपाईं हुने कार्यालयले जनाएको छ । असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्ने बताइएको छ । कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानले अब बल्ल रोपाइँको तयारी गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुुख अरुण खनालले बताउनुभयो ।
साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ सकिने उहाँले बताउनुभयो । “धेरैजसो किसानले धान रोपाइँ सकेका छन् । चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइँको तयारीमा छन् । साउन १५ सम्म सिन्धुलीमा लगभग रोपाइँ सकिन्छ, जिल्लामा शतप्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको” उहाँले बताउनुभयो । धान लगाउने समय अझै बाँकी रहेकाले शतप्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको उहाँको भनाइ छ । जिल्लामा स्थानीय जातका धान सावित्री, सावा, रामधान बढी मात्रामा लगाइने गरिन्छ । केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको छ ।
मनसुन सक्रिय भएसँगै जिल्लाका किसानलाई धान रोपाइँको चटारो छ । यतिबेला नौ वटै पालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ । केहि दिन देखिको निरन्तर परेकोे पानी खेतमा भरिएपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् । तर, जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपालि बीउको अभाव भएको किसानको भनाइ छ । तिनपाटन गाउँपालिका–१० का किसान रामकुमार घर्तिले घामले धानको बीउ डढेर कम भएपनि रोपाई नरोकिएको बताउनुभयो । उहाँले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई तीव्रता दिइएको बताउनुभयो । कमलामाई नगरपालिका–४ फाट खेतमा रोपाइँ गरिरहेका किसान शिवजी लामा खेतका आली लगाइ सकेपछि रोपाइँ गर्न व्यस्त भएको बताउनुभयो । उहाँले धान रोपाइँमा आवश्यक पर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको बताउनुभयो ।