बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा घरेलु हिंसाको सिकार बन्दै महिला

बिहिवार , आषाढ २८, २०८१

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ५ की सुन्तलीको (नाम परिर्वतन) को दुई वर्ष अगाडी तिनपाटन गाउँपालिका ११ मा आफुले मन पराएको केटासँग विवाह भयो । विवाह भएको एक वर्ष नपुग्दै सुन्तली श्रीमानसँग छुटिएर बस्नुभएको छ । “दिनरात श्रीमानले कुटपिट गर्न थालेपछि माइती आएर बसेको छु”, उहाँले भन्नुभयो, “दुइ महिना देखि माइतीमै बसेको छु । घरपरिवारले पनि वास्ता गरेका छैनन् । श्रीमानले पनि सम्र्पक गर्नुभएको छैन ”’ २० वर्षको उमेरमा प्रेम विवाह गर्नुभएको सुन्तलीलाई सासु, ससुरा कसैले सहयोग नगरेको गुनासो गर्नुहुन्छ । “श्रीमानले दिनरात पिट्दा पनि आमाबुवाले केहि भन्नु हुन्न थियो । आमाबुवाकै अगाडि श्रीमानले मलाई कुटपिट गर्नुहुन्थ्यो । रक्सि खाएर दैनिक कुटेपछि आफ्नो ज्यान बचाउन भागेर माइती आएको हुँ’” उहाँले भन्नुभयो ।

यस्तै, कमलामाई नगरपालिका ४ राएडिकी सविनाले (नाम परिर्वतन) गत चैतमा श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा निवेदन दिनुभयो । निवेदन दिएको केहि समयपछि प्रहरीले सविनालाई र उहाँको श्रीमानलाई छलफलको लागि बोलायो । छलफलमा दुवै जनासहित उनीहरुको आफन्तपनि उपस्थित भए । श्रीमानले मादक पदार्थ सेवन गरेर दिनरात कुटपिट गर्ने गरेको सविनाले बताउनुभयो । प्रहरीले सविनाको श्रीमानलाई हपार्दै कुटपिट गर्नुको कारण सोध्यो । उनले आफ्नो गल्ति स्वीकार्दै आगामी दिनमा त्यस्तो गल्ति नगर्ने भन्दै श्रीमतीलाई फकाउन थाल । सविनाले पनि श्रीमानको गल्तिलाई माफि दिनुभयो । प्रहरी कार्यालयबाट दुवै जना खुसी हुदै घर फर्किए ।

गत बैशाखमा कमलामाई नगरपालिका ४ कै उषाले (नाम परिर्वतन) श्रीमानले कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिनुभयो । निवेदन दिएको केहि दिनमा प्रहरीले उषा र उहाँको श्रीमानलाई छलफलका लागि बोलायो । छलफलका लागि बोलाउँदा उषाको श्रीमान भने आएनन् । उक्त समयमा उषा मात्रै प्रहरी कार्यालयमा उपस्थित हुनुभयो । श्रीमान नआएको कारण उषा पनि घर फर्किनुभयो । उषाले प्रहरीमा निवेदन दिएको कुरा श्रीमानले थाहा पाएछन् । प्रहरीमा आफुविरुद्ध निवेदन दिएको थाहा पाएपछि श्रीमानले झनै कुटपिट गरेको उषा गुनासो गर्नुहुन्छ । “प्रहरी कार्यालयबाट फर्किएपछि श्रीमानले राति घरमा धेरै कुटपिट गर्नुभयो । घरको परिवारले पनि उजूरी गर्नेभन्दै गालि गरे । त्यसपछि मलाई घरबाहिर निस्कन निषेध समेत गरे”, उहाँले भन्नुभयो । चार दिनपछि भागेर माइति पुग्नुभएको उषा फेरि प्रहरी कार्यालयमा पुग्नुभयो । न्याय माग्दै प्रहरी कार्यालय पुग्नुभएको उषाले श्रीमानलाई पक्राउ नै गर्नुपर्ने भन्दै निवेदन दिनुभयो । प्रहरीले बारम्बार उषाको श्रीमानलाई खबर गर्दा समेत उपस्थित नभएपछि उनलाई घरबाटै नियन्त्रणमा लिइ कार्यालयमा ल्याइयो । उषा, उहाँको श्रीमान र परिवार समेत प्रहरी कार्यालय आए । प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरायो । श्रीमान र परिवारले उषालाई स्वीकार गरेनन् । त्यसपछि सम्बन्ध विच्छेद नै गर्ने निर्णय भयो । प्रहरीले पनि उनीहरुलाई अदालत पठायो ।

सिन्धुलीमा घरेलु हिसां बढे पनि प्रहरीकोमा निवेदन दिनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ३ वटा निवेदन आएको थियो । ति मध्ये ७५ वटा मिलापत्र भएको छ । १२ वटा अदालतमा गएको र १३ वटा सम्र्पकमै नआएको प्रहरीले उल्लेख गरेको छ । आर्थिक २०८०/८१ को असार २६ गते सम्म ९५ वटा निवेदन परेको थियो । सो मध्ये ६७ वटा मिलापत्र भएको छ । १८ वटा अदालतमा गएको र १८ वटा बाकिँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया