बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली लागुऔषध ओसार पसारको ट्रान्जिट प्वाइन्ट बन्दै

मंगलवार , आषाढ २६, २०८१

सिन्धुली – गएको डेढ साता अघि सिन्धुली प्रहरीले ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो । कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठुलो परिमाणमा बरामद गरिएको गाँजा हो । यो त सिन्धुली जिल्लामा लागु औषध गाँजा नियन्त्रण गरिएकोे एउटा प्रतिनीधि घटना मात्र हो । पछिल्ला वर्षहरुमा जिल्लामा लागु औषध ओसार पसारको ग्राफ बढ्दै गएको प्रहरीकै तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक काफ्लेका अनुसार पछिल्ला तिन वर्षमा मात्र जिल्लामा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीमा अबैध गाँजा खेति गर्ने र अबैध रुपमा ठुलो परिमाणमा गाँजा निकासी हुने गरेको यस तथ्यांकले पुष्टि गर्दछ । गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १७ विगाह १८ कठ्ठा क्षेत्रफलमा लगाईको अबैध गाँजा खेति प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।

सिन्धुलीका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकामा विशेष गरेर अबैध गाँजा खेति गर्ने गरीएको छ । भारतिय व्यवसायीको लगानीमा यि क्षेत्रमा वर्षेनी गाँजा खेति गर्ने र प्रहरीले नष्ट गर्ने कार्य हुँदै आएको छ ।

यसले सिन्धुली जिल्ला अबैध गाँजा खेतिको उत्पादन तथा ओसार पसारको ट्रान्जिट प्वइन्ट बन्दै गएको तथ्यलाई पुष्टि गर्दछ ।

प्रहरी प्रमुख काफ्लेका अनुसार सिन्धुलीमा गाँजा सहित खैरो हिरोईन, एम्पुल, ट्यावलेट तथा विभिन्न प्रकारका झोल लागुऔषधको समेत ओसार पसार हुने गरेको छ ।

“गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्मको तथ्यांक अनुसार सिन्धुलीमा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा, १ सय ५२ दशमलव ७२६ मिलिग्राम हिरोईन, ७ सय ५ दशमलव ८५५ ग्राम चरेश, ६ हजार ३ सय ५५ एम्पुल, ७ हजार १ सय ७ वटा ट्यावलेट र १ हजार १ सय १४ बोतल झोल पदार्थ नियन्त्रणमा लिइएको छ,” उहाँले भन्नुभयो ।

यो समयमा लागु औषध ओसार पसार तथा नियन्त्रणका १ सय ७२ घटना घटेका छन् । यो निक्कै ठुलो तथ्यांक हो । प्रहरीले २०७८/०७९ देखि ०८०/०८१ सम्ममा १ सय ११ वटा लागु औषधका मुद्धा दर्ता गरेर अनुशन्धान गरेको छ । उक्त मुद्धामा ५० जनालाई संझाई बुझाई गरेर छाडिएपनि १ सय १ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको तथ्यां्क छ । प्रहरीले तिन वर्षको अवधिमा १ सय ३६ पटक विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै अबैध लागुऔधषको ओसार पसार तथा दुरुपयोग सम्बन्धी सचेतना प्रबाह गरेको थियो ।

यस पटक पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाईरहँदा जिल्लामा यति ठुलो परिमाणमा गाँजा नियन्त्रण हुँदा प्रहरीलाई नै चुनौति थपिएको छ ।

सिन्धुलीमा उत्पादन हुने गाँजा तराईका जिल्लाका साथै भारतसम्म ओसार पसार हुने गरेको छ भने खैरोहिरोइन, एम्पुल, ट्यावलेट तथा झोल पदार्थका लागु औषधहरु सिन्धुली हुँदै राजधानी काठमाण्डौं सप्लाई हुने गरेको छ । तराईका जिल्ला संग जोडिएको सिमानामा कडाईका साथ चेकजाँच नहुँनु र विपी, मध्येपहाडी र मदनभण्डारी जस्ता ठुला तिन वटा राजमार्गहरु सिन्धुली जिल्ला अन्तरगत नै पर्ने भएका कारण पनि अबैध लागु औषध ओसार पसारका घटनाहरु बढ्दै गएको बताईन्छ ।

प्रतिक्रिया