सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजना र सिन्धुली अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने कामको थालनी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो । यस कार्यक्रमलाई समय–समयमा निरन्तर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट मा १०७ जना प्रहरी कर्मचारीहरुले पस्वास्थ्य सेवा लिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।
शिविरमा जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । सधैँ तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो । “यो नियमित परीक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रत्येक दुई–तीन महिनामा हामीले स्वास्थ्य शिविरहरू आयोजना गरी प्रहरीको स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।
शिविर पूर्णरुपमा निःशुल्क रहेको र विशेषज्ञ चिकित्सक सहितको टिमबाट परामर्श तथा स्वास्थ्य सेवा दिएको दिएको सिन्धुली अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाले बताउनुभयो ।
शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरूलाई कार्यालयभित्र सेवा लिँदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताउनुभयो । आफूमा भएको समस्या वा स्वस्थ छु भन्ने ढुक्क हुनका लागि स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा प्रहरीहरूले खुसी व्यक्त गरे ।